सेबोन अध्यक्ष र नेप्से सीइओमाथि अनुसन्धान जारी छ, प्रतिवेदन छिट्टैः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ मुछिएको प्रकरणमा आन्तरिक अनुसन्धान भइरहेको बताएका छन् ।

संघीय संसद अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले अहिले ५ सदस्यीय छानविन समिति गठन भएको र उक्त छानबिन समितिको प्रतिवेदन आउने क्रममा रहेको बताए । उनले प्रतिवेदनका आधारमा अगाडि बढ्ने पनि जानकारी दिए ।

‘उक्त विषयमा बिस्तृत छानबिन गरेर वास्तविकता बाहिर ल्याउनेमा म प्रतिबद्धता जनाउछु,’ अर्थमन्त्री शर्माले भने ।

नियामक निकायले एकाघरका परिवारले सेयर कारोबार गरेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र चाँडै अनुसन्धान टुंग्याएर दोषी देखिएमा कारबाही गरिने उनले बताए ।

अर्थसमितिमा सांसदहरुले यो प्रकरणमा संस्थागत स्पष्टिकरण सोधिएको विषयमा अर्थमन्त्रालयसँग जवाफ मागेका थिए । संस्थागत मात्र नभइ बोर्डका अध्यक्ष र नेप्सेका सीइओ दुबैजनालाई व्यक्तिगत रुपमा पनि स्पष्टिकरण सोधिएको अर्थसचिव मधुकुमार मरासिनीले स्पष्ट समेत पारेका छन् ।

आन्तरिक छानबिन समिति बनाएको र उक्त समितिले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको मरासिनीले बताए । कर्मचारीमात्र नभइ विज्ञसमेत राखेर छानबिन समिति बनाएको र प्रारम्भिक अनुसन्धानबाट बोर्डका अध्यक्ष र नेप्सेका सीइओबाहेक अरु पनि संलग्न भएको पनि देखिएको मरासिनीले जानकारी गराए । उनले आवश्यकता र औचित्यका आधारमा अर्को उच्चस्तरीय समिति बनाउनेबारे पनि मन्त्रालयको ध्यान आकृष्ट भएको पनि उनले बताए ।


क्लिकमान्डु