सेबोन अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदको इन्साइडर ट्रेडिङ प्रकरण: यी हुन् नसुल्झिएका प्रश्न



काठमाडौं । बुक बिल्डिङ प्रकृयाबाट प्राथमिक सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले धितोपत्र बजार प्रभावित गर्ने उद्देश्यसहित नियामक निकायका प्रमुख, धितोपत्र दलाल र ठूला लगानीकर्तासमेतलाई ओभर द काउन्डर (ओटिसी) मार्फत् उक्त कम्पनीको सेयर कारोबार गरेको विषयमा संघीय संसदको अर्थ समितिले चासो दिइरहेको छ ।

समितिले आइतबार नियामक निकाय धितोपत्र बोर्ड र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छलफलका लागि बोलाएको थियो । समितिले प्रारम्भिक चरणको जानकारी लिनका लागि भन्दै बोर्ड र नेप्सेका पदाधिकारीसँग सोधपुछ गरेको हो ।

यो विषयलाई गम्भीरताका साथ अघि बढाउने र विस्तृत छानबिन गर्ने गरी समितिले तयारी गरिरहेको छ । यद्यपि, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मुछिएको यो प्रकरणमा नियम-कानून उल्लंघन को प्रश्न हो वा सामान्य नैतिकताको मात्रै विषय भन्नेमा समिति स्पष्ट छैन ।

सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमा कारोबार हुँदा नियामक निकाय वा अरु सम्बन्धित क्षेत्रका कर्मचारी र उनीहरुको परिवारले त्यस्तो सेयर खरिद गर्न पाउने वा नपाउने भन्ने विषय विद्यमान कानूनी व्यवस्थाले नसमेटेको र यो प्रकरणमा जोडिएका व्यक्तिहरुले यहि कानूनी छिद्रको गलत फाइदा उठाएको हुनसक्नेमा समितिको बढी चासो छ । कानून विपरित कारोबार भएको पुष्टि गर्ने आधार कमजोर देखिएपनि नैतिकता र आचारसंहिताको प्रश्नमा भने समितिले गल्ती पहिल्याइसकेको छ ।

अर्थ समितिले यसलाई गम्भीर विषय भन्दै तालुखवाला निकाय अर्थ मन्त्रालयसँग पनि जानकारी लिने र उसले गरेको अध्ययनको निश्कर्ष बारे सोध्ने तयारी गरेको छ ।

अर्थले सोधेको स्पष्टिकरणमा समितिको आपत्ति, मन्त्रालयलाई नै छलफलमा बोलाउने तयारी

यो विषय बाहिरिएसँगै अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेलाई पत्र काट्दै यसको स्पष्टिकरण माग गरेको थियो । तर, अर्थ मन्त्रालयले व्यक्तिगतरुपमा स्पष्टिकरण सोध्नुपर्नेमा संस्थागतरुपमा प्रश्न सोधर गम्भीर गल्ती गरेको समितिको ठहर छ ।

अर्थ मन्त्रालयले स्पष्टिकरण सोध्दा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई सोध्नुपर्नेमा संस्थागत रुपमा सोधेको र जसकारण ती निकायका प्रमुखको बचावमा अरु कर्मचारीहरु लाग्नुपरेको समितिको बुझाइ छ ।

समितिका अधिकांश सदस्यहरुले ‘यो प्रकरणमा मुछिएका भीष्मराज ढुंगाना र चन्द्रसिंह साउँदलाई स्पष्टिकरण माग्नुपर्नेमा संस्थागत रुपमा सबै कर्मचारीलाई स्पष्टिकरण किन गरिएको हो,’ भन्दै प्रश्न उठाएका छन् ।

बोर्ड र नेप्सेका अरु कर्मचारी संलग्न नै नदेखिएको विषयमा उनीहरुलाई जवाफदेही बनाउन नहुने विषय अधिकांश सांसदहरुले समितिमा उठाएका छन् ।

समितिमा ढुंगानाले बोर्डका उपकार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा साउदले नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीमार्फत जवाफ दिएका थिए ।

यस्तो छ ढुंगाना र साउदको जवाफ

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अर्थसमितिसँगको आइतबारको छलफलमा बिवाह गरेर गइसकेको छोरी एकाघरको व्यक्ति हुन नसक्ने र आफ्नो छोरी भएकै कारण यो सेयर खरिद प्रकरणमा आफुलाई जोड्न नहुने प्रष्टिकरण दिएका थिए ।

ढुंगानाको विद्यमान कानूनी व्यवस्था र कर्मचारीले यो विषयलाई कहीँकतै नसमेटको तर्क एकातिर थियो भने बिवाह गरेर अर्को घर गइसकेको छोरी एकाघरको सदस्य मान्ने वा नमान्ने भन्ने प्रश्न अर्को थियो ।

तर, सोमबार नेप्सेका सीइओ साउदले भने आफुले नेपालको विद्यमान कानूनी व्यवस्था हेर्दा यो प्रकृत्तिको कारोबार आफुले गर्न नपाउने भनेर कहीँ नभेटाएको र कानूनी प्रावधान नै नभएको विषयमा यसरी नैतिकताको प्रश्न आउँछ भन्ने कल्पना गरेको समितिमा बताएका छन् । कानूनमा कतै बन्देज नभेटाएपछि ओसिटी बजारबाट सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको उनको भनाइ छ ।

‘मैले विद्यमान कानूनी व्यवस्था हेरेरै सेयर किनेको हुँ, किन्दा यस्तो नैतिकताको प्रश्न र समस्या सिर्जना हुन्छ जस्तो लागेको थिएन,’ साउदले अर्थ समितिमा भने, ‘अबदेखि यस्ता विषयमा सचेत हुन्छु । कुनै विषयमा कानूनी र नैतिकताको प्रश्न आएमा दुइकोष टाढै बस्छु ।’

अध्ययन उपसमिति गठन गर्ने तयारी

अर्थ समितिले यो विषयमा अध्ययन गर्नका लागि समितिभित्रकै सदस्यहरुबाट अध्ययन उपसमिति गठन गर्ने र छानबिन गर्ने तयारी पनि गरिरहेको छ ।

‘यो गम्भीर विषय हो, यसलाई उठाउने र अब यत्तिकै छाड्ने भन्ने हुँदैन, यसको अन्तिम निचोड आउनैपर्छ, त्यसका लागि समितिले केहि कदम चाल्छ,’ सभापति कृष्णप्रसाद दहालले भने, ‘आवश्यकता हेरेर अध्ययन उपसमिति बनाई छानबिन थाल्ने विषयमा पनि समितिले सोच्नुपर्छ ।’


पुष्प दुलाल