नेपाली सडक, विदेशी कम्पनीको डिजाइन, यी हुन् विदेशी कम्पनीले डिजाइन गर्दै गरेका सडक
काठमाडौं । नेपालमा ठूला बजेटका विकास निर्माण सम्बन्धी काम भइरहेका छन् । केही आयोजना सञ्चालनका क्रममा छन् ।
विकास निर्माणको काम शुरु गर्नुअघि पूर्वसम्भाव्यता अध्ययन र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को आवश्यक पर्छ ।
वातावरण प्रभाव मूल्यांकन, लागत, कुन स्थानमा कस्तो संरचना बनाउने, आर्थिक तथा सामाजिक प्रभाव, सञ्चालन खर्चलगायत विविध पक्षको अध्ययन गरी डीपीआर तयार गरिन्छ । कुनै पनि विकास निर्माण शुरु गर्नु अघि डीपीआर अनिवार्य आवश्यक पर्छ ।
विशेषगरी दातृ निकायको ऋण सहयोमा सञ्चालित तथा जटिल प्रकृतिको आयोजनाको डीपीआरको जिम्मा विदेशी कम्पनीले पाइरहेका छन् ।
ठूला परियोजनाको अधिकांश डीपीआरको काममा कोरियन कम्पनीमा हावी छन् भने निर्माणको काम भने चिनियाँ कम्पनीले पाइरहेका छन् ।
दातृ निकायको सहयोगमा सञ्चालन हुने आयोजना अनुभवी र समान प्रकृतिको काम गरेको परार्शदाता खोजिने भएकाले विदेशी कम्पनीले ठूला आयोजनाको डीपीआर हात पार्ने पूर्वाधार विज्ञ राजेन्द्रराज शर्मा बताउँछन् ।
‘नेपालमा ठूला पूर्वाधारको काम भर्खर शुरु भएको छ । नेपाली परामर्शदातासँग ठूला प्रकृतिको काम गरेको अनुभव कम छ,’ शर्माले क्लिकमाण्डूसँग, ‘दातृ निकायको सहयोगमा सञ्चालन हुने आयोजना शर्त नै समान प्रकृतिको काम गरेको प्राविधिक जनशक्ति हुनुपर्ने हुन्छ ।’
यसले गर्दा पनि ठूला आयोजनामा विदेशी परामर्शदाताले काम प्राप्त गरिरहेको शर्मा बताउँछन् ।
नेपालमा सञ्चालन हुने क्रममा रहेका आयोजना कोरियन, सिंगापुर, टर्की, फिनल्याण्डलगायत मुलुकका परामर्शदाताले आवेदन दिने गरेका छन् । तर अन्य मुलुकको तुलनामा कोरियाका परामर्शदाताले सस्तो मूल्यमा आवेदन दिने भएकाले डीपीआरको अधिकांश जिम्मा पाएको उनको बुझाइ छ ।
कोरियामा विकास निर्माणका काम लगभग सकिसकेको छ । कोरिया सरकार आफ्नो देशका प्राविधिक जनशक्ति दक्षता कायम राख्नका लागि विदेशी भूमिमा गएर काम गर्न प्रोत्साहन गर्छ । विदेशमा काम गर्न चाहने परामर्शदातालाई आर्थिक सहायता पनि उपलब्ध गराउने गरेको छ । यसले गर्दा पनि कोरियन कम्पनीहरु अन्य मुलुकका परामर्शदाताभन्दा सस्तो मूल्यमा आर्थिक प्रस्ताव बुझाउने गर्छन् ।
साथै नेपाली परामर्शदाताहरु पनि सडक लगायतका केही पूर्वाधारको डीपीआर तयार गर्न सक्षम छन् ।
तर सुरुङ, विशेष प्रकृतिका पुल निर्माणका क्षेत्रमा नेपाली परामर्शदातासँग अनुभवको काम छन् ।
नेपालमा यस्ता प्रकृतिका काम बृहत रुपमा हुन थालेपछि स्वदेशी परामर्शदाताबाटै काम लिन सकिने उनको दावी छ । हाल नेपालमा सडक पूर्वाधार सम्बन्धी ठूला योजनाका रुपमा पूर्व–पश्चिम राजमार्ग बिस्तार, मुग्लिन–पोखरा सडक खण्ड बिस्तार, फास्टट्रयाक निर्माण, सिद्धबाबा सुरुङमार्गलगायत आयोजनाको डीपीआर बन्ने क्रममा छन् ।
काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडकखण्ड
सरकारले पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा बिस्तार गर्दैछ । पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटबल र कमला–कञ्चनपुर खण्डको निर्माण शुरु भइसकेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडक खण्ड तयार भइरहेको छ । यो खण्ड एसियाली विकास बैंकको सहुलियतपूर्ण कर्जामा निर्माण भइरहेको छ । सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको हो ।
२०७७ असोज १८ गते जिम्मा सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी)बीच सम्झौता भएको हो ।
परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ ।
सम्झौता बमोजिम परामर्शदाताले दुई वर्षभित्रमा डीपीआर तयार गरी निर्देशनालयलाई हस्तान्तरण गर्नेछ । काँकडभिट्टा–लौकी १२० किलोमिटर, पथलैया–नारायणघाट १०६ किमी र बुटबल–गोरुसिंहे ४४ किमी रहेको छ ।
पथलैया-ढलकेबहर-कमला
यस्तै विश्वबैंकको ऋण सहयोगमा सडक विभागले पथलैया–ढलकेबहर–कमला खण्ड पनि ४ लेनमा बिस्तार गर्ने योजना बनाएको छ । यो खण्ड बिस्तारका लागि आवश्यक पर्ने डीपीआर निर्माण गर्ने परामर्शदाताको मूल्यांकनमा सडक विभाग रहेको छ ।
प्रारम्भिक चरणमा ८ वटा विदेशी परामर्शदाता सूचीकृत भएका छन् ।
एम/एस जोइन्ट भेन्चर अफ इन्टरकन्टिनेन्टल कन्सल्ट्रयान्ट एण्ड टेक्नोकार्ट एण्ड दोहा इन्जिनियरिङ, भारत– एम/एस जोइन्ट भेन्चर अफ मेइनहार्ट सिंगापुर, कन्सल्टिङ इन्जिनियरिङ ग्रुप एड डोङसङ्ग इन्जिनियरिङ, सिंगापुर–एम/एस जोइन्ट भेन्चर अफ चेलि इन्जिनियरिङ एण्ड पयुन्घवा इन्जिनियरिङ, कोरिया– एम/एस जोइन्ट भेन्चर अफ डासान कन्सल्ट्रयान्ट एण्ड एलईए एसोशियट साउथ एसिया, कोरिया रहेका छन् ।
यस्तै एम/एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्रयान्ट, स्पेन-एम/एस जोइन्ट भेन्चर अफ सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ, डोङबु इन्जिनियरिङ एण्ड कोरिया इन्जिनियरिङ कन्सल्ट्रयान्ट, कोरिया-एम/एस जोइन्ट भेन्चर अफ या बीओटीईके बोस्फोरस टेक्निकल कन्सल्टिङ, डोङ एआईएल इन्जिनियरिङ कन्सल्ट्रयान्ट एण्ड उमर मुनशी एसोशिएट, टर्की-एम/एस जोइन्ट भेन्चर अफ आईएसएएन कर्पोरेसन, योङ्गमा इन्जिनियरिङ एण्ड एसए इन्फ्रास्ट्रक्चर कन्सल्ट्रयान्ट, कोरिया छन् ।
पथलैया-ढलकेबहर-कमला खण्डको डीपीआर बनाउने परामर्शदाताको अन्तिम मूल्यांकन अन्तिम चरणमा पुगेको सडक विभाग विभागले जानकारी दिएको छ ।
कमला-ढलकेबर-पथलैया सडकखण्डको डीपीआरका लागि महाशाखाले गत २०७७ जेठ २२ गते आशय माग गरेको थियो । ४२ वटा परामर्शदाताले प्रस्ताव बुझाएका थिए । प्राविधिक र आर्थिक मूल्यांकनमा सबल देखिएको परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ ।
मुग्लिन-पोखरा
मुग्लिन–पोखरा सडक खण्डको डीपीआर भइरहेको छ । आबुखैरेनी-पोखरा खण्डको डीपीआर सम्पन्न भएर निर्माणकार्य शुरु भइसकेको छ भने मुग्लिन-आबुखैरने खण्डको डीपीआर निर्माणकै क्रममै छ ।
मुग्लिन-आबखैरेनी खण्डमा मस्याङ्दी जलविद्युत आयोजनाको पवार हाउस रहेको छ । सडकलाई चार लेनमा बिस्तार गर्दा पावर हाउसमा क्षति हुने सम्भावना रहेकाले मस्याङ्दी नदीको दायाँ र बायाँ दुवैतर्फबाट सडक निर्माण गर्न खोजिएको छ । कोरियन परामर्शदाता केईसीसीले मुग्लिन-पोखरा खण्डको डीपीआर तयार पारिरहेको छ ।
यस खण्डको वातावरणिय प्रभाव मूल्यांकनको काम हुन बाँकी छ । मुग्लिन-आबुखैरेनी खण्डको डीपीआर तयार गर्न सन् २०१७ अक्टोबर १२ गते सडक विभाग र परामर्शदाताबीच सम्झौता भएको छ ।
विभागका अनुसार परामर्शदाताले १५ लाख १० हजार अमेरिकी डलर र ११ करोड ७० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको हो ।
परामर्शदाताले मुग्लिन-आबुखैरेनी खण्ड सहित कन्चनपुर-पकली, कमला-कञ्चनपुर, मलेखु-लोथर, सेती तथा मादी पुल, ढुम्रे-वेशी शहर सडक, मिर्चिया-कटारी-घुर्मी लगायतको सडक तथा पुलको डीपीआर गर्न उक्त रकममा सम्झौता गरेको हो ।
काठमाडौं–तराई फास्टट्रयाक
काठमाडौं-तराई फास्टट्रयाको डीपीआर तयार भइसकेको छ । डीपीआर कोरियन कम्पनी सुसङ इन्जिनियरले तयार गरेको हो । सुसङले भ्याटसहित १० करोड १२ लाख ७८ हजार रुपैयाँमा फास्टट्रयाको डीपीआर तयार गरेको हो ।
फास्टट्रयाक सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ किलोमिटर छ । जसमध्ये ३ वटा सुरुङमार्गको लम्बाई ६.४१ किलोमटिर, विभिन्न पुलहरुको लम्बाई १०.५९ किलोमिटर र सडक खण्डको लम्बाई ५५.५ किलोमिटर छ ।
फास्टट्रयाको सुरुङमार्ग र विशेष प्रकृतिका अग्ला पुल सेनाले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्दैछ । इपीसी मोडलमा ठेकेदारले नै डिजाइन र निर्माणको काम गर्छन् । मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटरको सुरुङमार्ग पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन गर्नेछ ।
महादेवडाँडा ३.३५ किलोमिटर सुरुङमार्ग निर्माणको जिम्मा पनि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेशनले पाएको छ ।
पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन २४ अर्ब ९७ करोड रुपैयाँमा र चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेरेसनले १८ अर्ब ६९ करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको छ । सेना र ठेकेदार कम्पनीबीच २०७८ बैशाख ३१ गते ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले साढे ३ वर्ष निर्माण सम्पन्न गरी सेनालाई हस्तान्तरण गर्नुपर्छ । जसमा डिजाइनको अवधि ६ महिना र निर्माणको अवधि ३ वर्ष राखिएको छ ।