सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकरात्मक



काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामनापत्र प्रदान गरे । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रम देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको काम को बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए ।

‘बैंक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गरायौं,’ भण्डारीले भने ‘प्रधानमन्त्रीज्यूले देशभरका सहकारीक्षेत्रको प्रतिथनिधित्व हुनेगरी सहकारी बैंक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभयो ।’

सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले देउवाले राखेका थिए ।

‘सहकारी बैंक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ,’ उनले भने ।

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए ।

नेपाल सहकारी बैक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउनेछ । बैंक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।


क्लिकमान्डु