हवाई कार्गोमा भीसीटीएसः कर छलीको आशंकामा ४ महिनादेखि अनुसन्धान




काठमाडौं । हवाई कार्गोमार्फत् हुने सामान ओसार-पसारमा कर छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले करिब ४ महिनादेखि एउटा अनुसन्धान गरिरहेको छ ।

विभागले यो अनुसन्धान टुंग्याउँदा आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा कसरी कर छली भइरहेको छ भन्ने तथ्यसमेत उजागर हुने ठानिएको छ ।

एक ठाउँबाट अर्को ठाउँ ढुवानी हुने मालवस्तुको विवरण ट्र्याक गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले विभागले २ वर्ष अघिदेखि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा ल्याएको थियो ।

भीसीटीएस प्रणाली ढुवानीका अरु साधनमा लागु भएपनि हवाई कार्गोमा त्यसको प्रभावकारी कार्यान्वयन बारे अझै स्पष्टता छैन ।

भीसीटीएसमार्फत् हुने निगरानीको दायराले हवाई कार्गोलाई कसरी समेट्छ र राजस्व चुहावट नियन्त्रण गरिन्छ भन्ने विषय पनि यो अनुसन्धान टुगिंएसँगै सतहमा आउनेछ ।

के थियो विषय ?

आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा कर छली भएको आशंकामा राजस्व अनुसन्धान विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गत वैशाख ४ र ६ गते यति एअरलाइन्सको हवाई कार्गोमा छापा मारेर सामान बरामद गरेको थियो ।

‘झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको यति एअरलाइन्सको कार्गोमा कर छली गरेर सामान ढुवानी हुँदैछ’ भनेर झापा भन्सार प्रशासन र जनपद प्रहरीले दिएको सूचनाको आधारमा विभागले उक्त छापा मारेको थियो ।

चेकजाँचका क्रममा राजस्व छली गरी ल्याइएको आशंकामा केहि पोका लत्ताकपडाहरु फेला परेपछि त्यसलाई थप अनुसन्धानका लागि बरामद गरिएको थियो । उक्त सामानमध्ये केही विभागको नियन्त्रणमा छ भने केही सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सिलबन्दी गरेर राखेको छ ।

बरामद भएको सामान अमित इन्टरप्राइजेजको नामबाट भीसीटीएस प्रणालीमा राखेको देखिएपनि उक्त सामान काठमाडौं पठाउँदा भने व्यक्तिका नाममा पठाएको भेटिएको थियो ।

सामान्य बिलमात्र काटेर पठाइएको र थप कुनै कागजातसमेत नभेटिएपछि सामान कहाँबाट ल्याइएको हो भन्नेसमेत खुलेको थिएन । विदेशबाट आयात गरेकोजस्तो देखिएपनि त्यसको प्रज्ञापनपत्र भने भेटिएको थिएन ।

कहाँ पुग्यो अनुसन्धान ?

राजस्व अनुसन्धान विभागका प्रवक्ता शिवलाल तिवारीकाअनुसार यो अनुसन्धान अझै टुंगिसकेको छैन । लामो समयपछि सामान धनी विभागको सम्पर्कमा आएको र कर छली भए-नभएको बारे अनुसन्धान चलिरहेको तिवारीले क्लिकमाण्डूसँग बताए ।

‘त्यो घटनाको अनुसन्धान चलिरहेको छ । सामान धनी विभागको सम्पर्कमा आइपुगेका छन् । भन्सार कार्यालयमा सिल गरेर राखिएको सामान खोल्न बाँकी छ,’ उनले भने ।

राजस्व अनसन्धानले यो प्रकरणमा नक्कली क्रेता बनाएर कर छली गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो ।

हवाई कार्गोबाट हुने ढुवानीमा कर छली भएको त्यो घटनायता अर्को कुनै घटनाबारे विभागले कुनै विवरण सार्वजनिक गरेको छैन ।

वैशाखमा गोप्य सूचनाका आधारमा छापा मारेर सामान नियन्त्रणमा लिएको भएपनि त्यस्तै प्रकृतीको कर छलीका अरु कुनै घटना हालसम्म बाहिर आइसकेका छैनन् ।


पुष्प दुलाल