हवाई कार्गोबाट हुने सामान ढुवानीमा पनि राजश्व छली, यति एयरलाइन्समा छापा हानेर सामान बरामद



काठमाडौं । आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा पनि राजश्व छली हुने गरेको भेटिएको छ ।

राजश्व अनुसन्धान विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बैशाख ४ र ६ गते यति एयरलाइन्सको हवाई कार्गोमा छापा हानी राजश्व छलीका सामान बरामद गरेको हो ।

राजश्व अनुसन्धान विभागका प्रवक्ता शिवलाल तिवारीका अनुसार झापा भन्सार प्रशासन र जनपद प्रहरीको सूचनाको आधारमा विभागले भद्रपुरबाट काठमाडौं आएको यति एयरलाइन्सको हवाई कार्गोमा छापा हानेको थियो ।

चेकजाँचका क्रममा राजश्व छली आशंका गरिएका केही पोका लत्ताकपडाहरु फेला परेपछि त्यसलाई थप अनुसन्धानका लागि बरामद गरेको तिवारीले बताए ।

‘क्रेता नक्कली हो कि भन्ने शंका लागेर केही पोका सामान हामीले राजश्व अनुसन्धान विभागमा ल्याएका छौं,’ प्रवक्ता तिवारीले क्लिकमाण्डूसँग भने ‘सामान धनी विभागमा आइपुगेको छैनन्, हामी त्यसको खोजीमा छौं ।’

राजश्व अनुसन्धान विभागले एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार–पसार गर्नुपूर्व ढुवानी हुने वस्तुको विवरण केन्द्रीय सूचना प्रणालीमै थाहा हुनुपर्ने व्यवस्था लागु गरेको छ ।

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिए) भनिने उक्त प्रणालीलाई नै छलेर हवाईमार्गबाट सामान ढुवानी गरि राजश्व छली गरेको भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको समन्वयमा छापा मारेको थियो । भन्सार कार्यालय श्रोतले क्लिकमाण्डुलाई दिएको जानकारीअनुसार बरामद भएको सामान अमित इन्टरप्राइजेजको नामबाट भिसिटिएस प्रणालीमा राखेको देखिन्छ ।

तर, उक्त सामान काठमाडौं पठाउँदा भने व्यक्तिका नाममा पठाएको भेटिएको छ ।

‘सामान्य बिलमात्र काटेर पठाएको र अरु कुनै कागजात नभएका कारण सामान कहाँबाट ल्याइएको हो भन्ने पनि खुल्दैन,’ स्रोतले भन्यो, ‘बाहिरबाट आयात भएको सामानजस्तो देखिन्छ, तर प्रज्ञापनपत्र छैन ।’

स्रोतका अनुसार बरामद भएका सामानमा गन्जी ११८ थान, लेडिज टप्स ७९१ थान, लेडिज कुर्ता ९८ थान र सारी ५५ थान सामग्रीलगायत छन् ।


पुष्प दुलाल