सर्वोत्तम सिमेन्टको सेयर प्रकरणः बोर्ड अध्यक्षलाई अर्थमन्त्रालयले सोध्यो ३ दिने स्पष्टिकरण



काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । अर्थ मन्त्तालयले बिहीबार स्पष्टिकरण सोधेको हो ।

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा आएको उक्त विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ खिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

धितोपत्र बोर्डको अध्यक्षले आफ्ना परिवारका नाममा विभिन्न कम्पनीको सेयर खरिद गर्नु गलत भएको समाचार क्लिकमाण्डूलगायतका विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।


पुष्प दुलाल