चिरायु अस्पतालको अपोइन्टमेन्ट अनलाइनबाटै लिन सकिने



काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात भएको छ ।

अस्पताल भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको शुरूवात भएको हो । चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाईन अपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ ।

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ । कोभिड–१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।


क्लिकमान्डु