भ्रष्टाचारको आरोपमा पुष्पलाल राजमार्गका योजना प्रमुखसहित ५ जनाविरूद्ध ३ करोड बिगोसहित मुद्दा



काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजना प्रमुखसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले पुष्पलाल राजमार्ग योजना धुलिखेलका योजना प्रमुख विजय चापागाई सहित ५ जनालाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

योजना अन्तर्गत खोटाङस्थित चेनेज ४२ प्लस ००० देखि ८८ प्लस ५०० देखि खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरी परेको थियो । अख्तियारले अनुसन्धान गर्दा उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएशन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएशन पेश गरिएको थियो ।

सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत बिना कुनै निर्णय फिल्डमा काम गरिएको थियो । फिल्डमा भएको परिमाणभन्दा बढकिो नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एटै चेनेजमा २ वटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको थियो ।

एउटै योजना कार्यालबाट एउटै चेनेजमा २ वटा ठेक्काबाट एउटा प्रकृतिको काम ओभरल्याप भई एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको काम अर्थवर्कको भुक्तानी भएको थियो ।

तर फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने तथा दिने कार्य भएको छ । सो बापत ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।

पुप्पलाल राजमार्गमा अनिमियता गर्ने ५ जनालाई २ करोड ९७ लाख २४ हजार ९३२ रुपैयाँ मागदाबी सहित मुद्दा दायर भएको हो ।


क्लिकमान्डु