उद्यमशीलता विकासमा साझेदारी गर्न प्रदेश नम्बर १ सँग उद्योग संगठन मोरङको प्रस्ताव



विराटनगर । उद्यमशीलता प्रवर्द्धन र औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी अर्थतन्त्र चलायमान बनाउन माग राख्दै उद्योग संगठन मोरङले प्रदेश १ का सामाजिक विकास मन्त्री उशाकला राई, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेललाई भेटेको छ ।

उद्योग संगठनले शुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रममा सहकार्यका लागि पनि प्रदेश सरकारसँग आग्रह गरेको छ ।

सरकार र नीजि क्षेत्रबीच समन्वय गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नयाँ आयाम थपिने र दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए ।

त्यस्तै, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा संचालन गरेको मेरो देश, मेरै उत्पादनका तथा प्रदेश सरकार र विराटनगर महानगरपालिकासमेतको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन पनि उद्योग संगठनले माग गरेको छ ।

उद्योगी व्यवसायीहरुसँगको छलफल पछि सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताइन् ।

मन्त्री राईले युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताइन् ।


क्लिकमान्डु