काममा बिलम्व गर्नु पनि भ्रष्टाचार होः ऊर्जामन्त्री भुसाल



काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताएकी छिन् ।

उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार आउनुपर्ने बताइन ।

‘हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ,’ उनले भनिन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)सँग आज मन्त्रालयमा सम्पन्न छलफलमा उनले समयको विलम्बलाई पनि अरु आर्थिक भ्रष्टाचार जस्तै रुपमा लिनुपर्ने बताइन् ।

‘गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि एक समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन.’ उनले थपिन ।

उनले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताइन् ।

‘हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ । तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टीओआर बनाउन सक्छौँ,’ उनले भनिन्, ‘मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभागहरू धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउनु पर्छ ।’

उनले ऊर्जा र सिंचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गरिन् ।

‘एउटै रुखका कारण वर्षौँसम्म काम रोएिको छ । त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ,’ उनले भनिन् ।

निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भनिन्,’म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिवद्ध छु, पहल पनि गर्छु ।’

उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौँ क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताइन् ।

विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेकाे बताइन् ।

मन्त्री भुसालले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पुर्याउन र खपत बढाउनका लागि आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिइन् ।

‘घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ ।” पिपिए गर्ने तर प्रशारणलाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको बताउँदै मन्त्री भुसालले प्रशारण संरचनाको निर्माण तीव्रताका साथ अघि बढाउनुपर्ने भनाइ व्यक्त गरिन् ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयहरूको कार्यान्वयन विशेष ध्यान दिने बताइन् ।

इपानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत् सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे । कार्यक्रममा सहभागीले कोभिड-१९ पारेको असरका विषयमा मन्त्रालयबाट भएका निर्णयअनुसारको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।


क्लिकमान्डु