कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत, गाडी कहिले गुड्छ टुंगो छैन



फाइल तस्बिर

काठमाडौं । राजधानीलाई तराईसँग जोड्ने कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत भए पनि तत्काल सञ्चालनमा आउने देखिएको छैन ।

कान्ती लोकपथ निर्माण गर्न करिब ३ अर्ब ३५ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ । हालसम्म ३ अर्बरुपैयाँ खर्च भइसकेको कान्ती लोकपथ सडक आयोजनाले जानकारी दिएको थियो ।

कान्ती लोकपथको भौतिक प्रगति पनि करिब ९० प्रतिशतकै आसपास छ । कान्ती लोकपथ निर्माण भइरहेको खण्डमा कमजोर पहाड छ । कमेरो माटो युक्त पहाड भएकाले प्रत्येक वर्ष पहिरो खस्ने समस्या छ ।

कान्ती लोकपथमा खस्न सक्ने तथा झरेका पहिरो पहिचान गरी त्यसलाई रोकथाम नगरेसम्म गाडी खुला गर्न नसकिने आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झा बताउँछन् ।

‘गाडी गुड्न सक्नेगरी ट्रयाक खुलिसकेको छ । हिउँदयाममा निजी तथा मोटरसाइकल यो सडकमा गुड्ने गरेका छन्,’ झाले भने, ‘ फास्ट ट्र्याकका लागि आवश्यक निर्माणा सामाग्री सामग्री ढुवानी गर्न पनि सेनाले यही सडक प्रयोग गरिरहेको छ । सडक सुरक्षित तबरले निर्माण गर्न बाँकी छ ।’

तत्काल रुट परमिट खुलाएर सवारीसाधन गुड्न दिन सकिने अवस्था नभएको झाको भनाइ छ ।

तुलनात्मक रुपमा ललितपुर खण्डको पहाडको तुलनामा मकवानपुरको पहाडको सतह स्थिर छ भने ललितपुर खण्डमा पर्ने पहाड कमजोर छ । यसले गर्दा बर्खायाममा धेरै ठाउँमा पहिरो जाँदा सडक सञ्चालनमा ल्याउन समस्या भइरहेको छ ।

हाल कान्ती लोकमार्गका छपेली, बगुवा, तामाखानी, गडी, काल्चे, झाँक्री डाँडा, प्रताभ डाँडा लगायत ११ ठाउँमा पहिरो खस्ने समस्या देखिएको छ ।

प्रत्येक वर्ष नयाँ ठाउँबाट पहिरो खस्ने गरेको छ । यो वर्षसम्म ११ स्थानमा पहिरो खसेको छ भने अर्को वर्ष फेरि नयाँ ठाउँबाट पहिरो खस्न पनि सक्छ । यसले गर्दा पहिरो खस्न सक्ने सम्भावित स्थानको पहिचान गरेर रोकथामको उपाय अबलम्बन गर्न आवश्यक छ । रोकथामको काम प्रभावकारी ढंगले नभएसम्म गाडी गुड्न नदिनु नै उपयुक्त हुने झा बताउँछन् ।

सडक विभाग अन्तर्गतको भू-वातावरण तथा सामाजिक शाखाले कान्ती लोकपथको पहिरो पहिचान र रोकथामको उपाय निकाल्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ ।

यसका लागि शाखाले २०७७ मा परामर्शदातासँग आसय माग गरिसकेको छ । कोभिड-१९ का कारण छनोट प्रक्रिया टुंंगोमा पुगिसकेको छैन ।
शाखाले परामर्शदाता छनोट गरिसकेपछि परामर्शदाताले पहिरो खस्न सक्ने सम्भावित स्थान र त्यसको रोकथामको उपाय सडक शाखालाई बुझाउने छ । रिपोर्टको आधारमा शाखाले पहिरो रोकथामको काम अघि बढाउनेछ ।

कान्ती लोकपथको कुल लम्बाई ८६ किलोमिटर छ । जसमध्ये आयोजनाको मातहतमा ७९ किलोमिटर सडक छ । ललितपुरको टिका भैरव-भैसेपाटी-एकान्तकुना ७ किलोमिटर खण्ड ललितपुर सडक डिभिजनले निर्माण गरिरहेको छ । मकवानपुरको बुद्ध चोकदेखि ललितपुरको टिकाभौरवसम्म कान्ती लोकपथको लम्बाई ७९ किलोमिटर छ । जसमध्ये मकवानपुरमा ५१ किलोमिटर र ललितपुरतर्फ २८ किलोमिटर पर्छ ।

करिब ४ किलोमिटर खण्डमा कठिन भुगोलका बाबजुत ३६ सयमिटर खण्डमा ९ मिटर चौडाइको ट्रयाक खोलिसकिएको आयोजनाले जानकारी दिएको छ ।

अब ४ सय मिटर क्षेत्रको ट्रयाक खोल्न बाँकी छ । यो खण्डमा पनि एउटा गाडी प्रवेश गर्न सक्नेगरी ट्रयाक खोलिसकिएको छ ।

आयोजनाले हालसम्म मकवानपुरतर्फ ४८ किलोमिटर र ललितपुरतर्फ १६ किलोमिटर कालोपत्रे सम्पन्न गरिसकेको छ । पहिरो खस्ने गरेको करिब ५ किलोमिटर खण्ड कालोपत्रे तत्काल नगर्ने आयोजनाको योजना छ । हाल कान्ती लोकपथमा ४ वटा चालु अवस्थाका ठेक्का छन् । यी सबैको म्याद असारमसान्तबाट समान्त भइसकेको छ । कोभिडको कारणले यी ठेक्काको म्याद ६ महिनासम्म थप हुन सक्ने आयोजनाले जानकारी दिएको छ ।

६ दशक अघि निर्माण शुरु

कान्ती लोकपथको निर्माण ६ दशक अघि नै निर्माण शुरु भएको थियो । कान्ति लोकपथ निर्माण २०१३ देखि शुरु भएको देखिन्छ । नेपाली सेनाले लोकपथको ट्रयाक खोलेको थियो ।

काठमाडौंलाई हेटौंडासँग जोड्नका लागि यसलाई भरपर्दो वैकलिप्क मार्गका रुपमा सडक पुनःविकास र स्तरोन्नती गर्न सन् २००३ मा कोरिया इन्टनेस्नल कर्पोरेसनले बिस्तृत सर्भे र डिजाइन गरेको छ । तत्कालिन समयमा यो सडक स्तरोन्नती गर्न एक अर्ब २१ करोड ९१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

तत्कालिन समयमा यो सडक ललितपुर र हेटौंडा डिभिजनबाट निर्माण हुँदै आइरहेको थियो । आर्थिक वर्ष २०७२÷७३ मा कान्ती लोकपथ आयोजना कार्यालय स्थापना भएसँगै निर्माण प्रक्रियाले तीव्रता पाएको प्रमुख झा बताउँछन् ।

‘आयोजना कार्यालय स्थापना हुन अघिसम्म कान्ती लोकपथलाई नगन्य मात्रमा बजेट विनियोजन हुने गरेको थियो । साथै दुई वटा डिभिजनले निर्माण गर्दै आइरहेका छन्,’ झाले भने ‘आयोजना कार्यालय स्थानपना भएसँगै बहुवर्षिय ठेक्का अन्तर्गत निर्माण भइरहेको छ ।’
आयोजना कार्यालय मार्फत काम हुन थालेसँगै बिस्तार प्रक्रियाले तीव्रता पाएको झाको दावी छ ।

२०७६ जेठ ६ गते मन्त्रिपरिषदले कान्ती लोकपथलाई राजमार्गमा विस्तार गर्ने निर्णय गरेको थियो । कम्तीमा पनि राजमार्ग २ लेनको हुनुपर्ने सरकारी नीति छ ।

एउटा लेन साढे ३ मिटरको हुन्छ । २ लेनको सडकमा गाडी गुड्ने क्षेत्र ७ मिटरको बनाउनुपर्छ । साथै ढल र सोल्डर पनि सडक संरचना भित्र पर्ने भएकाले कम्तीमा पनि ९ देखि साढे ९ मिटर चौडाको सडक बनाउनु पर्ने हुन्छ ।


क्लिकमान्डु