इजरायलका लागि रोजगारी खुल्यो, तलब मासिक २ लाख, यस्ता छन् मापदण्ड



काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदन माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

रोजगारीका लागि कुल १ हजार जना कामदार माग गरिएको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका लागि जागिर खुलाइएको हो । सूचना अनुसार इजरायलको नियम अनुसार ओभरटाइम काम गर्न पाइन्छ भने सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ । साथै प्रत्येक साता ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । कामदारले इजरायलको नियमअनुसार विदा पाउनेछन् भने कामदारको खाना खर्च आफैले बेहोर्नुपर्नेछ । शुरुमा काम गर्ने अवधि १ वर्षका लागि करार हुन्छ भने त्यसपछि करार अवधि अधिकतम ५ वर्षसम्मको हुनेछ ।

कामदारहरुले पारिश्रमिकवापत मासिक ५३०० इजरायली मुद्रा अर्थात् करिब २ लाख नेपाली रुपैयाँ पाउनेछन् ।

इच्छुकले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र अनलाइनबाट आवेदन भर्नुपर्नेछ ।

यस्तो छ मापदण्ड
२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्नेछ । विगतमा इजरालयलमा गइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।


क्लिकमान्डु