मोबाइल आयात हालसम्मकै उच्च, ८ वर्षमा साढे १ खर्ब बढीको आयात



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै उच्च मोबाइल सेट आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्षमा १०३ प्रतिशतले मोबाइल सेट आयातमा वृद्धि भएको हो ।

आव २०७७/७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३ सय ६६ सेट मोबाइल सेट आयात गरेको छ । जसमा गत वर्ष उक्त आयातित मोबाइल फोनबाट सरकारले ५ अर्ब ८४ करोड ९ लाख रुपैयाँ भन्सार महशुल उठाएको छ ।

जबकी आव २०७६/७७ मा नेपालमा १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ बराबरको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको थियो । उक्त वर्ष सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको थियो ।

यसअघि आव २०७४/७५ मा नेपालमा २४ अर्ब ८७ लाख ८३ लाख रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ सेट मोबाइलफोन आयात गरेको थियो । सो वर्ष विगतको दिनमा आयात हुँदै आएको मोबाइल फोनमा नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै आव २०७४/७५ मा आयात भएको रेकर्डलाई पछि पार्दै कोरोनाकै अवधिमा अत्यधिक मोबाइल फोन आयात भएको छ ।

बजारमा अन्य व्यापार व्यवसायमा निकै प्रभाव परेको अवस्थाको मोबाइल फोनमा भने कुनै असर नपरेको मोबाइल व्यवसायीहरू बताउँछन् ।

पहिलो पटक कोरोना महामारीका कारण लामो समय बन्दाबन्दीका धेरै समय व्यापार व्यवसाय बन्द गर्न बाध्य भएका थिए । तर लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै मोबाइल फोनको व्यापार चम्किएको थियो ।

साथै, विभिन्न क्षेत्रका संघसंस्थालगायत विद्यालयले अनलाइनमार्फत् पढाउने र भर्चुअल मिटिङ सबै हुन थालेपश्चात मोबाइल किन्नेको भिड हुने गरेको व्यवसायीहरू अनुभव रहेको छ ।

त्यस्तै, पहिलो लकडाउनपश्चात मोबाइलको व्यापार चम्किएसँगै आयात पनि अत्यधिक भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
ताम्राकार कम्प्लेक्सस्थित ‘अर्को मोबाइल शप’का सञ्चालक रघुनाथ लामिछानेले कोरोनाका कारण व्यवसाय चम्किएको बताए । कोरोना महामारीले गर्दा पटक–पटक लकडाउन र निषेधाज्ञा लागू भएपनि बजार खुल्ला गर्ने निर्णयसँगै व्यापार उच्च भएको उनको अनुभव छ ।

‘कोरोना महामारीको समयमा सम्पूर्ण व्यवसाय बन्द भए पनि लकडाउन खुलेसँगै मोबाइल व्यापारले गति लिएको हो,’ उनले भने, ‘अहिले कोरोना महामारीको दोस्रो लहर शुरु हुनुभन्दा अघि निकै भिड भए पनि अहिले भने घटेको छ ।’

उनका अनुसार विगतका दिनमा मोबाइल फोन अत्यधिक माग आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा ग्राहकले खोजेअनुसारको मोबाइल उपलब्ध गराउन नसकेको हो । कोरोनापश्चात बजारमा मोबाइलको अभाव भएको उनको भनाइ छ । तर, अहिले बिस्तारै सहज हुँदै गएको उनले बताए ।

कोरोनाले मोबाइलको व्यापार हालसम्मकै उच्च भएको मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बताउँछन् । उनले बजारमा माग बढेसँगै आयात पनि हालसम्मकै उच्च भएको बताए ।

पछिल्लो समय कोरोना महामारीले अधिकांश पठनपाठन र भर्चुअल मिटिङलगायत अन्य सम्पूर्ण कार्य मोबाइबाट हुन थालेपछि व्यापारमा नयाँ आयाम थपेको उनी बताउँछन् ।

‘विगतको दिनमा फोन मात्रै मोबाइल भए पुग्थ्यो भने प्रविधिको विकाससँगै बजारमा स्मार्टफोनको माग बढेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘ल्यापटप, क्यामारा, क्याल्कुलेटर र घडीको साटो मोबाइल बढी प्रयोग भएकाले माग र आयात बढेको हो ।’

साथै, कोरोनाको समयमा घरमै बस्नुपर्ने बाध्यता भएपछि स्मार्टफोन काम गर्नका लागि अत्यावश्यक भएको उनको भनाइ छ ।

८ वर्षमा करिब ४ करोड मोबाइल सेट आयात
नेपालले ८ वर्षको अवधिका करिब ४ करोड मोबाइल सेट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले ८ वर्षमा १ खर्ब ६२ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ बराबरको ३ करोड ९३ लाख ६५ हजार ६ सय ९ मोबाइल सेट आया गरेको छ ।

उक्त आयातित मोबाइल सेटबाट नेपालले ८ वर्षको अवधिमा २३ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु