दुई दशकपछि वैदेशिक रोजगारी खुम्चियो, ६१ हजार मात्रै विदेशिए



काठमाडौं । करिब दुई दशकपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या खुम्चिएको छ । नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख वैदेशिक रोजगारीमा जाने गर्दै आएकोमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको हो ।

पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ५५ लाख नाघेको छ । यो संख्या नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र हो ।

अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या यसमा जोड्दा अझ बढी हुनसक्छ । तर, लामो समयपश्चात कोरोनाले गर्दा शतप्रतिशत वैदेशिक रोजगारी खुम्चिएको यो पहिलो पटक हो ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २७ वर्ष अर्थात आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्मको अवधिमा श्रम स्वीकृति लिएर कूल ५५ लाख ६४ हजार ७९ जना रोजगारीको लागि विदेशिएका छन् ।

आर्थिक वर्ष २०५०/५१ मा श्रम स्वीकृति लिएर ३ हजार ६०५ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए । यसको १० वर्षपछि अर्थात आर्थिक वर्ष २०६०/६१ मा नेपालबाट १ लाख ६ हजार ६६० जना श्रम स्वीकृति लिएर विदेशिएको देखिन्छ । साथै, अर्को एक दशकमा अर्थात २०७०/७१ मा वैदेशिक रोजगारीमा जाने संख्या अत्यधिक थियो ।

नेपालबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएको वर्ष २०७०/७१ हो । त्यसबेला श्रम स्वीकृति लिएर ५ लाख १९ हजार ६ सय ३८ जना नेपाली विदेशिएका थिए । आर्थिक वर्ष २०७०/७१ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमशः घट्दै गएको देखिन्छ । तर, पछिल्ला दुई आर्थिक वर्षमा कोरोनाले गर्दा निकै प्रभाव परेको देखिन्छ ।

२०६० सालबाट निरन्तर जानेको संख्या बढ्दै गएकोमा आव २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्यामा शत प्रतिशत गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मा जम्मा ६१ हजार ४ सय २८ जना मात्रै विदेशिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या २ लाख ३६ हजार २०८ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट १ लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

कोरोना महामारीले आर्थिक वर्ष २०७६/७७ को चैतबाट वैदेशिक रोजगारीमा कठिनाई हुँदै आएकोमा हालसम्म सहज हुन सकेको छैन् । पहिलो चरणको कोरोना महामारीले दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा २० प्रतिशतभन्दा कम गिरावट आएको तथ्यांक थियो ।

तर, दोस्रो लहरको कोरोना महामारीले आर्थिक वर्ष २०७७/७८ मात्रै ६० प्रतिशतले कमी आएको छ । यसले गर्दा आन्तरिक बजारमा थप बेरोजगारको संख्या थप्दै गएको देखिन्छ । साथै, यससँग सम्बन्धित व्यवसायी झन मारमा परेको व्यवसायीहरूको भनाइ छ ।

कोरोनाले गर्दा आर्थिक वर्ष २०७६/७७ मा पनि कोरोना महामारीका कारण वैदेशिक रोजगारी खुम्चिएको सरोकारवालाहरू बताउँछन् ।
कोरोना संक्रमणका कारण रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको उनीहरूको भनाइ छ ।

हाल दोस्रो चरणको कोभिडले गर्दा अन्र्राष्ट्रिय उडान, रोजगारदाताको मागलगायत अन्य विभिन्न कार्यमा सहज हुन सकेको छैन । नेपालको प्रमुख गन्तव्य मानिने केही खाडी मुलुकका रोजगारदाताले प्रवेशमा कुनै रोक नलगाए पनि हवाई उडान तथा खोपको अनिवार्य व्यवस्थाले गर्दा झन मारमा परेको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित कुमार श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पछिल्लो समय विभिन्न देशबाट माग आउन थाले पनि प्रवेशको लागि रोजगारदाताले शर्त तोकेको हुँदा श्रमिकहरू जान नसकेको बताए । यसले गर्दा वैदेशिक रोजगारी खुम्चिँदै जाने हो भने नेपालमा बेरोजगारको भयावह स्थिति आउन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु