६ वर्षपछि आयल निगम पुनः घाटामा



काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको हो ।

आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर घाटामा गएको निगमले २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको थियो । तर, आव २०७७/७८ मा पुनः घाटा गएको निगमले जनाएको छ । निगमले आव २०७७/७८ मा करिब ४ अर्ब घाटामा गएको अनुमान गरेका छन् ।

निगमका प्रवक्ता विनितमणी उपाध्ययले करिब ६ वर्षपछि पुन घाटामा गएको बताए । उनका अनुसार आव २०७७/७८ मा कोरोना महामारीका र अन्तर्राष्ट्रिय बजार मूल्यले गर्दा करिब ४ अर्ब घाटामा गएको बताए ।

‘गतवर्ष निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको थियो । तर, चालु आवको शुरुवाती देखिनै निगमले निरन्तर घाटा व्यहोर्दै आएकाले असार मसान्तसम्ममा ४ अर्ब घाटा भएको छ,’ उनले क्लिकमान्डूसँग भने ।

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नेपाल आयाल निगमले नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको आयल निगमले बताएको छ ।

पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ । निगमले नोक्सानी व्यहोर्दै गएपछि निरन्तर मूल्य बढाउँदै आएको छ । तर, मूल्य बढाए पनि सो नोक्सानले केही करोडमा मात्रै घट्ने निगमको भनाइ छ ।

पछिल्लो समय मूल्य वृद्धिबारे विभिन्न आन्दोलन भएपश्चात १ रुपैयाँ मूल्य घटाउन बाध्य भएका छन् । तर, आगामी दिनमा निगमले यही अनुसार घाटा व्यहोर्दै जाने हो भयावह स्थिति आउन सक्ने उनको बुझाइ छ ।

‘निगमले हाल दैनिक ६ करोडभन्दा बढी नोक्सान व्यहोर्दै आएको छ,’ उनले भने, ‘करिब १५ दिनको अवधिमा १ अर्ब हाराहारीमा नोक्सान व्यहोरेको छ । तर, पनि सर्वसाधारणहरूलाई आजको मूल्यसम्ममा प्रतिलिटर ११ रुपैयाँ घाटा व्यहोर्दै बिक्री भइरहेको छ ।’

कुन वर्ष कति नाफा ?
निगमले २०६५/७६ पश्चात निगमले निरन्तर ५ वर्ष घाटा व्यहोरेको निगमको तथ्याङ्कले देखाउँदछ छ । सो घाटापछि करिब ६ वर्ष देखि निरन्तर नाफा गर्दै आएको निगमले आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको थियो ।

सरकारले सो आयातित पेट्रोलियम पदार्थबाट ६७ अर्ब ७१ करोड राजश्वसंकलन गरेको थियो । उक्त आयातित वस्तबाट भन्सार शुल्कवापत १५ अर्ब २९ करोेड, सडकमर्मत शुल्क ४ अर्ब ९९ करोड, वातावारण खर्च २ अर्ब ९४ करोड मूल्य अभिवृद्धि कर २५ अर्ब करोड, पुर्वाधार विकास कर (बढी गण्डकी) बाट १३ अर्ब ९८ करोड, आयकरबाट ५ अर्ब ५० करोड गरी ६७ करोड राजश्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको थियो भने २३ अर्ब ५४ करोड राजश्व संकलन गरेको थियो । त्यस्तै, आव २०७२/७३ मा १९ अर्ब ३६ करोड नाफा गर्दा ४७ अर्ब ७ करोड राजश्व संकलन गरेको निगमको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, आव २०७४/७५ मा ३ अर्ब ५८ करोड, आव २०७५/७६ मा ८ अर्ब ६५ करोड नाफा गरेको थियो ।


क्लिकमान्डु