विद्युत उत्पादनको सरकारी लक्ष्य पुगेन, २५% मात्रै थपियो



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा झण्डै १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताएको थियो । सोही अनुसारको घोषणा पनि थियो ।

तर, कोरोना कहरका कारण तोकिएको समयमा कामदार, निर्माण सामग्रीको उपलब्धता तथा अन्य स्वास्थ्य जोखिमका कारण तोकिए अनुसारको बिजुली उत्पादन हुन सकेन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाकै कारण सरकारले लक्ष्य राखेअनुसारको काम हुन सकेन । निजी क्षेत्रका आयोजना समेत सोही समस्यामा नै परे ।

तोकिएअनुसारको काम गर्न सकेनन् । लक्ष्य भन्दा असाध्यै कम मात्रामा बिजुली उत्पादन हुँदा जलविद्युत् आयोजनाको समय र लागत समेत दुबै बढ्न पुगे ।

दोलखामा आयोजना स्थल रहेको सिंगटी हाइड्रो पावरले एकाध दिन पहिले मात्रै प्रणालीमा बिजुली जोडेको छ । सो आयोजनाबाट २५ मेगावाट बिजुली उत्पादन भएको छ । १५ दिनसम्म निशुल्क रुपमा नेपाल विद्युत् प्राधिकररणलाई बिजुली उपलब्ध गराएपछि व्यवसायिक रुपमा बिजुली उत्पादन हुने र प्रणालीमा जोडिने छ ।

यस्तै, सोही आवमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट १५२ मेगावाट बिजुली जोड्ने लक्ष्य राखिएको थियो । तर, सो आयोजनाको एउटा मात्रै युनिट सञ्चालनमा आयो ।

सोही कारण प्रणालीमा मात्रै ७६ मेगावाट बिजुली जोडिएको छ । कूल ७६ मेगावाट भनिएपनि आवश्यकताका आधारमा मात्रै बिजुली जोडिएको आयोजनाले जनाएको छ ।

आव २०७७/७८ मा प्रणालीमा जोडिएका आयोजनाहरुमा ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजना हो ।

ऊर्जा मन्त्रालयका अनुसार माथिल्लो चाकु २२.२ मेगावाट पनि जोडिएको छ । अघिल्लो आवदेखि नै उत्पादन शुरु भएपनि सो आवमा जोडिएको अर्को आयोजना हो कुलेखानी तेस्रो १४ मेगावाट हो ।

कुलेखानी जलाशयको पानी प्रयोग गरिएको सो आयोजना क्यासकेड आयोजना हो । सो आयोजनाले तोकिए अनुसार नै बिजुली उत्पादन गर्छ ।

कुलेखानी पहिलोको क्षमता ६० मेगावाट छ भने दोस्रोको ३२ मेगावाट रहेको छ । पहिलो र दोस्रो आयोजनामा प्रयोग भएको पानी प्रयोग गरेर कुलेखानी तेस्रो आयोजना चल्छ ।

ऊर्जा मन्त्रालयका अनुसार आव २०७७÷७८ मा नामार्जुन मादी १२ मेगावाट, टक्सार पिलुवाले ८ मेगावाट बिजुली प्रणालीमा जोेडेको छ ।
घट्टे खालाले ५ मेगावाट बिजुली थप गर्दा विजयपुर खोलाले २४.५ मेगावाट बिजुली प्रणालीमा थप गरेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले नै निर्माण गरेको सौर्य परियोजनाले थप १० मेगावाट बिजुली प्रुणालीमा जोडेको छ । त्रिशुलीमा आयोजना स्थल रहेको सो आयोजना विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको हो । सो आयोजना कूल २५ मेगावाट क्षमताको भएपनि थप बिजुली चालुमा थप गर्ने प्राधिकरणको योजना छ ।

यस्तै सौर्य परियोजना तर्फ नै निजी क्षेत्रका दुई आयोजनाको बिजुली प्रणालीमा थप भएको छ । ऊर्जा मन्त्रालयका अनुसार मिथिला सोलार १० मेगावाट, बुटवल सोलारले थप १० मेगावाट प्रणालीमा थप गरेको छ ।

यस्तै, एक चिनी उद्योगले थप ३ मेगावाट बिजुली थप गर्दा रावा खोलाबाट ३ मेगावाट बिजुली प्रणालीमा थप गरेको छ । सहउत्पादनसहित कूल १८ आयोजना सो आवमा सकिएको छ ।

तोकिएको १ हजार मेगावाट भएपनि प्रणालीमा थप २५० मेगावाट मात्रै थप भएको हो । यो कूल लक्षित क्षमताको मात्रै २५ प्रतिशत हो ।

सरकारले चालु आवमा १ हजार ६२९ मेगावाट प्रणालीमा थप गर्ने लक्ष्य राखेको छ । आव २०७७/७८ मा लक्ष्यको तुलनामा मात्रै २५ प्रतिशत उत्पादन भएको सन्दर्भमा चालु आवमा तोकिएको लक्ष्य समेत पूरा हुन समस्या पर्ने देखिन्छ ।

सरकारले चालु आवमा माथिल्लो तामाकोशीकाबाट २२८ मेगावाट, रसुवागढीबाट १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशुली थ्री बीबाट ३७, राहुघाट ४०, मध्यभोटेकोशी १०२, निजी क्षेत्रले सनर्माण गरिरहेका आयोजनाबाट कूल १ हजार ५५ मेगावाट थप गर्ने लक्ष्य राखेको छ । कुनै पनि आर्थिक वर्षका सरकारले लक्ष्य राखे अनुसारको बिजुली उत्पादन हुन सकेको छैन ।


क्लिकमान्डु