सवारी आयातामा देखिएको समस्या हल गर्न नाडाको माग



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरुमा पनि छलफल गरेकोे नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएकाले सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरे । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुको अवगत गराए ।

त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ वर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने बताए । साथै नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि रिजालले आग्रह गरे ।

उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइलक्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गरेका छन् ।

सो छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु