बाढी-पहिरो पीडित ५७२ परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने, कुन क्षेत्रमा कति क्षति भयो ?



काठमाडौं । यसवर्षको मनसुन शुरु भएसँगै देशमा विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण विस्थापित ५७२ परिवारलाई सरकारले तत्काल ५० हजार रुपैयाँ बराबर राहत रकम उपलब्ध गराउने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार राष्ट्रिय सभामा बोल्दै प्राकृतिक विपत्तिका कारण ५७२ परिवार विस्थापित भएको र उनीहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत तथा पुनर्स्थापना रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको बताए ।

यसका लागि २ करोड ८६ लाख रुपैयाँ बराबर रकम छुट्याइएको पनि मन्त्री पौडेलले बताए ।

प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निमाण र पुनस्र्थापनाको प्रबन्ध मिलाइएको र विपद प्रभावित निजी आवास पुनर्निमाण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ अनुसार हिमाली जिल्लामा प्रतिपरिवार ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख उपलब्ध गराइने उनले बताए । यो रकम सरकारले किस्ताबन्दीमा दिनेछ ।

बाढी पहिरोले कुन क्षेत्रमा कति क्षति ?
गृहमन्त्री पौडेलले राष्ट्रिय सभामा गराएको जानकारीअनुसार ५७२ वटा घरमा पूर्ण क्षति भई परिवार विस्थापित भएका छन् भने ११२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै बाढी–पहिरोले विभिन्न ३६ वटा सरकारी भवन र ९ वटा विद्यालयहरु क्षतिग्रस्त भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिराहामा १ गरी १५ वटा मोटरेबल पक्की पुलमा क्षति पुगेको छ । मनाङमा ५ वटा मोटरेबल काठेपुल बगेका छन् ।

सिन्धुपाल्चोकमा १४, मनाङमा ७, र मस्र्यांङ्दी नदीमा २ वटा गरी २३ वटा झोलुंगे पुल बगेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स सम्म जाने पहुँचमार्ग र पुलमा क्षति पुगेको छ । हेडवक्र्समा भएको क्षतिको यकीन गरी मर्मत सम्भारको काम शुरु गरिसकेको मन्त्री पौडेलले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकमा तत्काल २ वटा बेलिब्रिज निर्माण गरेर अवरुद्ध सडक खुलाउनका लागि पहल शुरु गरिसकेको उनको भनाइ छ ।

देशभरका विभिन्न साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ भने कास्की, मनाङ, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाका २५ वटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ ।
बाढी पहिरो पछि नेपाली सेनाको हेलिकप्टरमार्फत् विभिन्न जिल्लाका २७८ जनालाई उद्दार गरिएको पौडेलले बताए । त्यस्तै, २ हजार भन्दा बढी व्यक्तिलाई अन्यमाध्यामबाट उद्दार गरिएको छ ।

प्राकृतिक प्रकोपका कारण पीडित भएकाहरुलाई ८३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १९५ थान स्लिपिङ ब्याग मन्त्रालयको समन्वयमा जिल्ला विपद व्यवस्थापन समन्वय समितिलाई वितरण गरिएको उनले राष्ट्रिय सभालाई जानकारी गराए ।

सबै प्रदेश र जिल्लाको हालसम्म भएको कुल क्षतिको विवरण आउन बाँकी रहेको र सम्बन्धित निकायबाट क्षतिको विवरण माग गरिएको पनि उनले बताए ।


क्लिकमान्डु