साझालाई ४० वटा विद्युतीय बस बिक्री गर्न ९ कम्पनी इच्छुक



काठमाडौं । साझा यातायातलाई विद्युतीय बस बिक्री गर्न ९ वटा कम्पनी इच्छुक देखिएका छन् ।

विद्युतीय बस खरिदका लागि साझा यातायातले आह्वान गरेको टेन्डरमा ९ वटा कम्पनीको आवेदन परेको साझाका कार्यावाहक सीईओ महेन्द्रराज पाण्डेले जानकारी दिए । साझाले शुक्रबार प्रस्ताव खोलेको थियो ।

विद्युतीय बस बिक्रीका लागि इच्छा देखाउनेमा अधिकांश चिनियाँ कम्पनी रहेको पाण्डेले बताए ।

‘अब मूल्यांकन समितिले ती कम्पनीको प्रस्तावको मूल्यांकन गर्नेछ । समितिले प्रस्ताव बुझाएका कम्पनीहरुको मूल्यांकनको आधारमा कम्पनी छनोट गर्नेछ । छनोट भएको कम्पनीलाई बोर्डमा लगिने छ,’ पाण्डेले भने, ‘मूल्यांकन समितिले सिफारित गरेको प्रस्तावलाई बोर्डले स्विकार गरेपछि खरिद प्रक्रिया अघि बढाइने छ ।’

समितिले करिब एक डेढ महिनाभित्रमा मूल्यांकन सम्पन्न गर्ने साझाले विश्वास गरेको छ ।

साझाले विद्युतीय बस खरिद गर्न २०७७ चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरिएको थियो । विद्युतीय बस बिक्री गर्न चाहने कम्पनीले २०७८ बैशाख २६ गतेभित्र आवेदन बुझाउनु पर्ने गरी टेन्डर आह्वान गरिएको थियो । तर कोराना महामारी नियान्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण साझाले असार १९ गते टेन्डर खोलेको हो ।

विद्युतीय बस निर्यातकर्ता कम्पनी र साझा यातायातबीच खरिद सम्झौता भएको १२० दिनभित्रमा ३ वटा विद्युतीय बस र बाँकी बस २४० दिनभित्रमा डिलेभरी गर्नुपर्छ ।

टेण्डर प्रक्रियामा सहभागी हुन विगत ३ वर्षदेखि विद्युतीय बस उत्पादन गरेको हुनुपर्छ । प्रस्तावित मोडल कम्पनीकै उद्योग वा सहयोगी कम्पनीमा उत्पादन वा एसेम्बलिङ भएको हुनुपर्छ । नयाँ मोडल हुनुपर्छ जो विगत १ वर्षदेखि मूल देश वा अन्तर्राष्ट्रिय बजारको सार्वजनिक यातायातमा प्रयोग भएको हुनुपर्छ । स्वदेश वा विदेशमा कम्तीमा १ सय वटा विद्युतीय बस बिक्री गरेको हुनुपर्छ ।

बिक्री कर्ताले एउटा सुविधासम्पन वर्कशप नेपालमा खोलेको हुनुपर्छ वा नेपालमा सञ्चालन भइरहेको सर्भिस सेन्टरसँग सहकार्य भएको हुनुपर्छ । उक्त सर्भिस सेन्टरले विगत २ वर्षदेखि डेलिभरी हुने वा त्यस्तै प्रकारको बसको मर्मत सम्भार गरेको हुनुपर्छ ।


क्लिकमान्डु