विद्युतीय सवारीको मूल्य घटेसँगै बुकिङ बढ्न थाल्यो, आयात बढाउँदै व्यवसायी



काठमाडौं । अन्तःशुल्क खारेजी र भन्सार महसुल घटेसँगै सवारी बिक्रेताले विद्युतीय सवारी नेपाल भित्र्याउने तयारी शुरु गरेका छन् । सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत् अन्तःशुल्क पूरै खारेज र भन्सार महसुल घटाएपछि सवारी विक्रेताहरु विद्युतीय सवारी भित्र्याउन केन्द्रित देखिन्छन् ।

चालु वर्षको बजेटमा निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा अन्तःशुल्क वृद्धि गरेपछि विद्युतीय सवारीको आयात घटेको थियो । तर, खतिवडाले खतिवडाले भन्सार दर ८० प्रतिशत र अन्तःशुल्क ४० प्रतिशत लिने व्यवस्था गरेका थिए ।

यसले गर्दा विद्युतीय सवारीको मूल्य आकाशिएको थियो । महँगो मूल्यका कारण विद्युतीय सवारी चढ्न चाहने उपभोक्ता अन्यन्त्र मोडिनुका साथै आफ्नो योजनालाई केहि समय थाँती राख्न पुगेका थिए ।

आगामी वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले १ सय किलोवाट क्षमताको विद्युती सवारी आयात गर्दा १० प्रतिशत भन्सार, १ सयदेखि २ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेका छन् ।

साथै २ सयदेखि ३ सयसम्म ३० प्रतिशत भन्सार लगाइने छ । ३ सय किलोेवाटभन्दा माथिका मोटर जडित विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार शुल्क लिइनेछ । नयाँ व्यवस्थाले विद्युतीय गाडी प्रति आकर्षण बढ्ने व्यवसायीहरुको विश्वास छ ।

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सका प्रबन्धक निर्देशक सचिन अर्यालका अनुसार सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै विद्युतीय सवारी प्रति चासो राख्ने ग्राहक बढेका छन् ।

बजेटमार्फत् विद्युतीय सवारीको मूल्य घटेसँगै विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहक बढेको अर्यालको भनाइ छ । अहिले दैनिक २÷३ जना ग्राहक गाडी बुकिङका लागि आउने गरेको उनले जानकारी दिए ।

‘घटेको मूल्यमा गाडी खरिद गर्न पाउँदा ग्राहक उत्साहित छन् । विद्युतीय सवारीमा सरकारी नीतिको ठूलो प्रभाव हुन्छ । चालु आवमा विद्युतीय सवारीको भन्सार महशुल र अन्तःशुल्क वृद्धि हुँदा गाडीको मूल्य बढेको थियो,’ अर्यालले भने, ‘जसले गर्दा विद्युतीय सवारी चढ्ने चहानाका बाबजुत धेरै ग्राहकले चढ्न पाउनु भएको थियो ।’ सरकारले उदार नीति कायम राखेमा विद्युतीय सवारी प्रयोग गर्दा बढ्ने उनको अपेक्षा छ ।

चालु आवमा विद्युती सवारीको मूल्य बढ्दा अपेक्षित रुपमा विद्युतीय सवारीको बिक्री हुन सकेको थिएन । चालु आवमा कम्पनीले विद्युतीय सवारी प्रति ग्राहकको रुचि कायम राख्नका लागि भनेर २५ वटा गाडी आयात गरेको थियो । यो वर्ष कम्पनीले ५० वटा गाडी नेपाल भित्र्याउन अर्डर गरिसकेको छ । उनको अनुसार यी गाडी साउनको अन्तिम सातासम्म नेपाल आइपुग्नेछन् ।

पारामाउन्ड मोटर्सले नेपालमा एमजी इजेडएस बिक्री गर्दै आइरहेको छ । बजेट अघि एमजी इजेडएसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो । हाल एमजी इजेडएस ५० लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले बजेट भाषणसँगै विद्युतीय सवारीको आयात बढाउने भएको छ । हुन्डाईको नेपालमा कोना र आयोनिक इलेक्ट्रिीक बिक्री गर्दै आइरहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा मासिक औषतमा ५ वटा विद्युतीय गाडीको अर्डर गर्ने गरेको थियो । अहिले कम्पनीले ३० वटा इलेक्ट्रिक भित्र्याउन अर्डर दिइसकेको कम्पनीको महाप्रवन्धक दीपक थपलियाले बताए ।

‘निषेधाज्ञा खुकुलो भएसँगै अपेक्षित रुपमा ग्राहकको सोधपुछ बढेको छ । तर परिस्थिति सामान्य हुँदै गएसँगै गाडी किन्ने ग्राहक बढ्ने छ,’ थपलियाले भने, ‘पछिल्लो दिनमा बुकिङ पनि भइरहेको छ । माग अनुसार कम्पनीले आयात बढाउनेछ ।’

बजेटको प्रभाव स्वरुप कोना इभीको मूल्य २३ लाख रुपैयाँले घटेको छ । बजेटअघि कोना १५० किलोवाटको मूल्य ९४ लाख ९६ हजार थियो । अहिले त्यो घटेर ७१ लाख ९६ हजारमा पुगेको छ ।

कोना १०० किलोवाटको मूल्य ७६ लाख ९६ हजार र आयोनिक १०० किलोवाटको मूल्य ७७ लाख ९६ हजार थियो । कोना १०० किलोवाटको मूल्य ५६ लाख ९६ हजार र आयोनिकको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ छ ।

निषेधाज्ञा खुकुलो भएसँगै दिगो गाडी बुझ्न आउने ग्राहक संख्या उल्लेखनीय रुपमा वृद्धि भएको कम्पनीको सेल्स म्यानेजर रचना रोयले बताइन् ।

चालु आवमा कम्पनीले ३५ यूनिट विद्युतीय गाडी बिक्री गरेको थियो । यो वर्ष विद्युतीय गाडी किन्न चाहने ग्राहक बढेकाले कम्पनीले थप नयाँ गाडी ल्याउने तयारीमा जुटेको उनले बताइन् ।

महिन्द्राको विद्युतीय गाडीको स्टक सकिएको अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारी जानकारी दिए ।

महिन्द्राले नेपालमा विद्युती गाडीमा ई२ओ प्लस, ईभिटारो र ईसुप्रो बिक्री गर्दै आएको आइरहेको छ ।

‘विद्युतीय गाडी खोज्न आउने ग्राहक बढेका छन् । निषेधाज्ञाको समयमा पनि महिन्द्रको विद्युतीय गाडी प्रति ग्राहकको रुची राम्रै थियो,’ भण्डारीले भने, ‘अहिले पनि उस्तै छ ।’ कोराना महामारीका कारण भारतमा महिन्द्राको प्लान्ट बन्द रहेकाले कम्पनीले गाडी अर्डर गर्न सकेको छैन । भारतमा कोरानाको प्रकोप घटेर गाडीको उत्पादन शुरु भए लगत्तै विद्युतीय गाडी नेपाल भित्र्याउने कम्पनीले योजना बनाएको छ ।


क्लिकमान्डु