यातायात व्यवस्था विभागका महानिर्देशकले नयाँ मापदण्ड अनुसार लाइसेन्सको ‘डेमो ट्रायल’ दिए
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को डेमो ट्रायल दिएका छन् ।
सरकारले सुधारिएको व्यवस्था अनुसार लाइसेन्सको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ । अहिलेको कार्यान्वयनमा रहेको नियमअनुसार प्रयोगात्मक परीक्षामा पास हुनको लागि सबै प्यारामिटरमा शत प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । तर नयाँ व्यवस्था अनुसार गल्ती गर्दा सिधै फेल नभई परीक्षार्थीको नम्बर काटिन्छ ।
नयाँ मापदण्डअनुसार आगामी दिनमा ६० अंक मात्रै ल्याए पास भइन्छ । नयाँ मापदण्ड अनुसार के गर्दा नम्बर कटिन्छ भन्ने विषयको जानकारी कर्मचारी, ट्राफिक तथा सर्वाधारणलाई दिन डेमो ट्रायल दिइएको महानिर्देशक घिमिरेले बताए ।
‘नयाँ मापदण्ड अनुसारको ट्रायल सबैका लागि नयाँ विषय हो,’ घिमिरेले भने, ‘नयाँ मापदण्ड अनुसार कसरी ट्रायल दिने र लिने भन्ने कर्मचारी र सर्वाधारणमा अन्यौल छ ।’ यस विषयलाई सहज बनाउन यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुनाबाट डेमो ट्रायल दिइएको उनले बताए ।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण बैंशाख १६ गतेदेखि ट्रायल परीक्षा सञ्चालनमा हुन सकेको छैन । सरकारले पूर्ण रुपमा निषेधाज्ञा अन्त्य गरेपछि लाइसेन्सको ट्रायल परीक्षा सञ्चालनमा आउने उनले क्लिकमाण्डूलाई बताए ।