मृतक कर्मचारीका परिवारलाई सवा ३३ लाख भुक्तानी गर्न गोर्खा ब्रुअरीलाई कोषको आदेश



काठमाडौं । सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई मृतक कर्मचारीलाई सवा ३३ लाख रुपैयाँ बढी भुक्तानी गर्नका लागि पत्र काटेको छ ।

कोषले मुकुन्दपुर, नवलपसारीमा रहेको गोर्खा ब्रुअरीमा कार्यरत कर्मचारी रामबहादुर सार्कीको परिवारजनलाई ३३ लाख ३१ हजार ३०६ रुपैयाँ ३ महिनाभित्र एकमुष्ठ रुपमा भुक्तानी गर्न पत्राचार गरेको हो ।

कम्पनीमा कार्यरत सार्कीको गत वर्षको साउन २९ गते  निधन भएको थियो । त्यसपछि सार्कीकी श्रीमति लक्षमाकुमारी सार्कीले सामाजिक सुरक्षा वापतको रकम पाउनुपर्ने भन्दै कोषमा निवेदन दिएकी थिइन् ।

मृतक सार्कीको आधारभूत तलब २२ हजार ४२ रुपैयाँ ४ पैसा रहेको र उनको जन्ममिति २०२७ असार २८ गतेलाई आधार मानी नेपालीको औसत आयु ७१ वर्षका आधारमा तलबको ६० प्रतिशतले हुन आउने ३३ लाख ६३० रुपैयाँ र अन्तिम संस्कारका लागि खर्च २५ हजार रुपैयाँ गरी कुल ३३ लाख ३१ हजार ३०६ रुपैयाँ भुक्तानी गर्न कोषले कम्पनीलाई निर्देशन दिएको हो ।

कम्पनीले उक्त समयभित्र भुक्तानी नगरेमा ऐनको दफा ५६ अनुसार सरकारी बाँकी सरह असुल उपर गरी ऐनको दफा १६ को उपदफा २ बमोजिम सम्बन्धित पक्षलाई उपलब्ध गराइने समेत स्पष्ट पारेको छ ।

सरकारले ल्याएको योजनामा सबै संगठित तथा असंगठित क्षेत्रका श्रमिक तथा कर्मचारी आबद्ध हुनुपर्ने कानूनअनुसार आबद्धता नगराएका रोजगारदातालाई कोषले सामाजिक सुरक्षा अन्तर्गत पाउने सुविधा रकम परिवारलाई भुक्तानी गर्न आदेश दिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

कानूनसम्मत् कोषमा सबै रोजगारदाता कम्पनीले आफ्ना श्रमिक तथा कर्मचारी कोषमा आबद्ध गराउनुपर्ने हुन्छ । तर अहिलेसम्म अधिकांशले गराएका छैनन् ।

यसबीच कोषमा आबद्ध नभएका तथा योगदानवापतको रकम निरन्तरता नदिएका मृतक श्रमिक तथा कर्मचारीका परिवारले कोषमा गुनासो दर्ता गराएमा सामाजिक सुरक्षा सुविधा वापतको रकम एकमुष्ठ भुक्तानको आदेश दिने अधिकार कोषको ऐनमा छ ।

यसअघि कोषले ग्लोवल आइएमई बैंक र सनराइज बैंकलाई मृतकका आश्रित परिवारलाई रकम भुक्तान गर्न आदेश दिइसकेको छ ।


क्लिकमान्डु