सेयर मूल्यमा चलखेल गर्ने व्यक्ति र समूह हाम्रो शुक्ष्म निगरानीमा छन्, कारबाही हुन्छ: अध्यक्ष ढुंगाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले विभिन्न कम्पनीको सेयर मूल्यमा छलखेल गरी अस्वाभाविकरुपमा बढाउने व्यक्ति र समूहमाथि आफूहरुले शुक्ष्म निगरानी गरिरहेको बताएका छन् ।
यस्ता व्यक्ति वा समूहले चलखेल गरी अस्वाभाविकरुपमा मूल्य बढाएका ५१ कम्पनीको लिस्ट सार्वजनिक गरेपछि क्लिकमाण्डूले सोधको थियो- ‘कुनै एउटा औंला बिग्रियो भने हातै काटिदिएजस्तो भएन र ?’
जवाफमा बोर्ड अध्यक्ष ढुंगानाले भने, ‘विल्कुलै त्यस्तो होइन, हामीले ती कम्पनीको सेयर नकिन्नुहोस् भनेका छैनौं, हामीले गरेको प्रारम्भिक अध्ययन अनुसार ५१ कम्पनीको सेयरमा केही व्यक्ति र समूहले चलखेल गरेका छन्, लगानीकर्ताहरु होसियार हुनु मात्रै भनेका हौं ।’
धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)
कुन कम्पनीको सेयर कुन व्यक्ति वा समूहले कुन मितिमा किनेर कसरी मूल्य बढायो भन्ने कुराको समेत बोर्डले तथ्यांक राखेको उनले बताए ।
‘अहिले हामीले मूल्यमा चलखेल गर्ने व्यक्ति र समूहको प्रारम्भिक पहिचान गरिसकेका छौं, उनीहरुमाथि हाम्रो शुक्ष्म निगरानी छ,’ उनले भने, ‘हाम्रो टिम कैफियतका बलिया आधारहरु जुटाउन लागि परेको छ । दिन आएपछि चलखेल गर्नेलाई कारबाही हुन्छ ।’
चलखेल भएको पाइए पनि कारबाही नै गर्नका लागि ठोस आधार जुट्न केही समय लाग्ने उनले जानकारी दिए । मंगलबारको विज्ञप्तिले चलखेल गर्नेहरुलाई पनि सचेत गराएको उनको भनाइ छ ।
त्यसैगरी, धितोपत्र बोर्डले सेयर किनेकै आधारमा व्यक्तिलाई कारबाही गर्न अलि कठिन भएपछि ती संस्थामा चलखेल भएको छ, सोझासाझा लगानीकर्ताले लगानी गर्नु जोखिमयुक्त छ मात्रै भन्न खोजिएको उनले प्रष्ट पारे ।
‘मानौं, तपाईंले कुनै कम्पनीको १ लाख कित्ता सेयर किन्नुभयो । अब धितोपत्र बोर्डले किन किनिस् भनेर सीधै कारबाही गर्न मिल्दैन,’ उनले भने, ‘तर, इन्साइडर इन्फरमेशन वा अन्य कुनै विषयमा छानविन हुनसक्छ ।’
तर, बोर्डको विज्ञप्तिको विषयमा केही फरक सूचनाहरु बजारमा प्रवाह भएको उनको भनाइ छ ।
‘हाम्रो उदेश्य बजार घटाउने होइन, बजारमा अस्वाभाविक चलखेल हुन नदिने र लगानीकर्तालाई सचेत गराउने हो,’ उनले भने, ‘तर, त्यस्ता समूहले बजारमा गलत सूचना प्रवाह गरिरहेका छन् ।’
गलत हल्लाका पछि नलाग्न आम लगानीकर्तालाई ढुंगानाको आग्रह छ ।