‘एओन’ हटाउने नीतिः औँलाको उपचार नगरी हात काटियो, लगानीकर्तालाई आर्थिक भार थपियो



काठमाडौैं । धितोपत्र बोर्डको निर्देशनमा आइतबारदेखि सेयर खरिदबिक्रीमा प्रयोग हुने अल अर नन (एओन) सेवा हटेको छ ।

धितोपत्र बोर्डले ठूला सेयर लगानीकर्ताले चलखेल गरेको भन्दै आइतबारदेखि लागू हुने गरी एओनको अप्सन हटाउने निर्णय गरेको हो ।

मार्केट डेप्थमा खरिदको चाप देखाउनका लागि एओनमा बढी अर्डर गरेर चलखेल गरेको आरोप धितोपत्र बोर्डले लगाएर एओनको सुविधा नै हटाएको हो ।

यसले लगानीकर्तालाई फाइदाभन्दा पनि घाटा हुने हो । लगानीकर्ताका केही संगठनको दबाबमा धितोपत्र बोर्डले एओन हटाउने निर्णय गरेपनि यसले लगानीकर्तालाई थप आर्थिक भार पार्ने छ । जसको फाइदा स्टक ब्रोकर, नेप्से, सीडीएससी तथा धितोपत्र बोर्डलाई हुनेछ ।

यसरी हुन्छ घाटा
हिजोको दिनसम्म १ लाख कित्ता लगानीकर्ताले अर्डर राखेको अवस्थामा उसले १ लाख कित्ता नपाएमा सेयर नकिन्दा हुने थियो । एओन हटाउने निर्णयसँगै १ लाख कित्ता अर्डर राखेको लगानीकर्ताले ५० हजार कित्ता पाएमा उसले सेयर किन्नुपर्ने हुन्छ । यसले लगानीकर्तालाई क्षमता अनुसार एकैपटक सेयर खरिद गर्नका लागि रोकेको छ ।

जसबाट आफ्नो क्षमता अनुसार सेयर किन्नका लागि लगानीकर्ताको लागि लागत बढ्छ । एकैपटक किन्दा पाइने सेयर पटक पटकबाट किनेपछि तिर्नुपर्ने ब्रोकर कमिसन, सेवाशुल्कलगायत बढ्छ । जसले गर्दा लगानीकर्तालाई थप आर्थिक भार हुन्छ । तर, लगानीकर्ताहरु आर्थिक भारको विषय नहेरेर यसलाई स्वागत गरिरहेका छन् ।

धितोपत्र बोर्डले खरिदको कृतिम चाप गर्ने लगानीकर्तालाई कारवाही गर्न सक्ने अधिकार थियो । स्रोतका अनुसार पछिल्लो समय ५८, ३९ तथा २० नम्बर ब्रोकरबाट यस्तो खाले नक्कली खरिद भएको देखिएको थियो ।

नियामकीय भूमिकालाई आफै कमजोर बनाएको धितोपत्र बोर्डले गल्ती गर्नेलाई कारबाही गर्नेभन्दा त्यो प्रणालीलाई नै ध्वस्त बनाउने काम गरेको छ ।

‘हातको औलामा घाउ भएको बेला घाउको उपचार गर्नुपर्नेमा धितोपत्र बोर्डले हात ने काटेर फालिदियो,’ एक सेयरलगानीकर्ताले भने ।

धेरै लगानीकर्ताले सेयर बजारमा ठूला लगानीकर्ताको चलखेल एओन हटेपछि बन्द हुने बताएका छन् । जबकी बजारमा यस्ता लगानीकर्ताले भित्रि सूचनाको आधारमा कारोबार गर्छन् । जुन अजोड तथा राधी जलविद्युत् आयोजनाबाट नै देखिसकेको छ ।

टुक्राएर सेयर कारोबार गर्दा बढी शुल्क
अहिले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा ०.४०२ प्रतिशत कमिसन तिरे पुग्छ ।

कारोबार रकम बढ्दै जाँदा सेवा शुल्क पनि कम हुँदै जान्छ । अर्थात् ५० हजथार रुपैयाँदेखि ५ लाखसम्मको कारोबार गर्दा कमिसनवापत तपाईंले ०.३६५८ प्रतिशत तिरे पुग्छ । त्यसैगरी ५ लाखदेखि २० लाखसम्मको कारोबार गर्दा ०.३३५ प्रतिशत कमिसन छ भने २० लाखदेखि १ करोडसम्मको कारोबार गर्दा ०.३०१५ प्रतिशत कमिसन र सोभन्दा माथको कारोबार गर्दा ०.२६८ प्रतिशत तिरे पुग्थ्यो ।

अब तपाईंले एनओएनको सुविधा अन्तर्गत १ लाखको कारोबार गर्दा एकमुष्ठ खरिद गर्न जति कमिसन शुल्क बुझाउनुहुन्थ्यो त्यही १ लाख रुपैयाँ बराबरको कारोबार गर्दा यदि पटक पटक गरी ५० हजारभन्दा कम ट्रज्याञ्जेक्सन भयो भने तपाईंले कमिसन पटक–पटक गरी बढी बुझाउनु पर्ने हुन्छ । यसमा प्रतिकारोबार जोडिने डीपी चार्ज पनि लाग्छ ।


क्लिकमान्डु