सेयर बजारमा ‘एओएन’ सुविधा डिसेबल



काठमाडौं । लगानीकर्ताको गुनासो आएपछि नेपाल स्टक एक्सचेञ्जले एओएनको सुविधा डिसेबल गरेको छ । नेप्सेका अनुसार लगानीकर्ताले एनओएन सुविधाको दुरुपयोग भएको भन्दै हटाउन माग गरेका थिए ।

सो अनुसार एनओएन सुविधा हाललाई डिसबेल गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

‘पछिल्लो समयमा एनओएन सुविधाको दुरुपयोग भएको भन्दै लगानीकर्ताको गुनासो आएपछि बोर्डको सहमतिमा डिसेबल गरिएको छ,’ उनले भने ।

एनओएन भनेको ‘अल अर नन्’ हो । अर्थात् सेयर खरिद वा बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ लाग्छ । जस्तै, यदि तपाईंले कुनै कम्पनीको १०० कित्ता सेयर खरिद गर्नका लागि अर्डरमा राख्नु भयो भने एनओएन सुविधा अन्तर्गत तपाईंले एकै पटक १०० कित्ता सेयर नै किन्न पाउनु हुनेछ । तपाईंले टुक्राएर सेयर गर्नुपर्ने अवस्था रहन्न ।

पछिल्लो समय केही सेयर लगानीकर्ताहरुले खरिदमा चाप देखाउनका लागि एनओए सुविधाको दुरुपयोग गरेको भन्दै गुनासो आएको थियो । जसमा कुनै कम्पनीको १ लाख कित्ता खरिदमा राख्ने र उक्त लिमिट पुग्न थालेपछि क्यान्सिल गर्ने परिपाटीले सेयरमा उच्च माग रहेको देखिन्थ्यो । जसका कारण सेयर मूल्यमा अस्वभाविक वृद्धि भएको भन्दै लगानीकर्ताहरुले एओन सुविधा हटाउन माग गरेका थिए ।


क्लिकमान्डु