सेयर बजारमा आइपीओमार्फत् १० महिना ७८ अर्ब भित्रियो, अनलाइन प्रयोगकर्ता १७ गुणाले थपिए



काठमाडौं । चालु आवको १० महिनामा पुँजी बजारमा आइपीओमार्फत् ७८ अर्ब रुपैयाँ पुँजी परिचालन भएको छ । यो २८ वर्षको इतिहासमा नयाँ रेकर्ड भएको समेत उनले बताए ।

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष भिष्म ढुंगानाले उक्त जानकारी दिए ।

त्यसैगरी धितोपत्र बजारबाट पुँजीगत लाभकरवापत सरकारले वर्षेनी १ अर्ब रुपैयाँ पाउँदै आएकोमा चालु आवमा त्यो संख्या मासिक १ अर्ब रुपैयाँ पुँजीगत लाभकर सरकारले लिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनका अनुसार यसबीचमा डिम्याट खाता खोल्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत असार महिनासम्ममा १७ लाख डिम्याट खाता खुलेकोमा १० महिनामा शतप्रतिशतले बढेर ३५ लाखभन्दा बढी पुगेको छ । त्यसैगरी मेरो सेयरमा खाता खोल्नेको संख्या ७ लाखबाट साढे ३ गुणाले बढेर साढे २६ लाख पुगेको छ ।

त्यसैगरी आइपीओ भर्नेहरुहरुको संख्या ५ लाखबाट बढेर १८ लाखसम्म पुग्न थालेको छ ।

त्यसैगरी अनलाइन प्रयोगकर्तामा पनि उल्लेख्य वृद्धि भएको छ । गत असार मसान्तसम्ममा जम्मा ३५ हजार जनाले अनलाइन सेवा लिएकोमा १० महिनाको अवधिमा त्यो संख्या १७ गुणाले बढेर ६ लाख ६० हजार पुगेको छ ।

ढुंगानाले बजारपुँजीकरण गत असार मसान्तसम्ममा जीडीपीको तुलनामा ४५ प्रतिशत रहेकोमा १० महिनामा त्यो बढेर जीडीपीको आकार बराबर पुगेको बताए ।

उनले लकडाउनका कारण अनलाइन प्रयोगकर्ता बढेकाले सेयर बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको बताए ।


क्लिकमान्डु