नेप्से परिसूचकमा झिनो गिरावट, लगानीकर्ता बैंक छाडेर फाइनान्सतर्फ



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबारको कारोबारमा परिसूचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा बन्द भएको छ ।

यो दिन ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६५ रुपैयाँ ५ पैसामा कारोबार भएको छ ।

यो दिन ११३ कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ९.२७ प्रतिशत, विकास बैंक ६.२७ प्रतिशत र हाइड्रोपावरतर्फ ३.२३ प्रतिशतको वृद्धि देखिएको छ ।

यो दिन करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ ।

त्यसैगरी कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र समृद्धि फाइनान्समा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी धेरै गुमाउने कम्पनीमा लक्ष्मी बैंक, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंक, कुमारी बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल बंगलादेश बैंक लगायतका छन् ।


क्लिकमान्डु