विद्युतीय सवारीमा बजेटको प्रभावः हुन्डाईको मूल्य घट्यो, कियाको बढ्यो



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको प्रभाव लागि विद्युतीय सवारीसाधनको मूल्य घटबढ हुने भएको छ ।

सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क पूर्णरुपमा हटाएको छ भने भन्सार दरमा परिमार्जन गरेको छ ।
यसले चालु आर्थिक वर्षको तुलनामा विद्युतीय सवारी खरिद मूल्य सस्तो हुने व्यवसायीले बताएका छन् ।

विश्वका धेरै देशले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीति लिएका छन् । तर नेपालमा त्यसको ठीक विपरीत चालु आर्थिक वर्षमा भन्सार दर तथा अन्तःशुल्क बढाएको थियो ।

जसले गर्दा विद्युतीय सवारीसाधनको मूल्य दुई गुणासम्म बढ्न पुगेको थियो । विगतका वर्षमा विद्युतीय सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्नेगरी कर बढाइएको नाडा अटो मोवाइल्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन् ।

‘आगामी आर्थिक वर्षका लागि विद्युतीय सवारी कर दर केही घटेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ दाहालले भने, ‘विद्युतीय सवारी खरिदकर्ताले केही राहत दिन्छ ।’ विगतका वर्षमा विद्युतीय सवारीमा धेरै कर बढाइएकाले यो बजेटले करेक्सन गरेको उनी बताउँछन् ।

बजेटमार्फत् सरकारले विद्युतीय सवारीसाधनलाई प्रबद्र्धन गर्ने उद्देश्य लिएको छ । यसका लागि सरकारले नीतिगतका साथै पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्छ ।

सवारीसाधन आयत गर्दा सरकारले एकपटक भन्सार लगाउने हो । तर विद्युतीय सवारीको संख्या बढाउँदा सरकारले नियमित आम्दानी गर्न सक्छ ।

जैविक इन्धनबाट चल्ने सवारीसाधनका लागि आवश्यक पेट्रोलियम पदार्थको आयातमा सरकारको खर्बै रुपैयाँ विदेशिरहेको छ । विद्युतीय सवारीमा भन्सार शुल्क बढाउँदा त्यसको प्रभाव आयातमा पनि देखिएको छ । विद्युतीय सवारीको आयातमा कम भयो ।

सरकारको लक्ष्य अनुसारको राजश्व संकलन भएन । भन्सार बढाएर मात्र आम्दानी बढाउन नसकिने सरकारले बुझेको जस्तो देखिन्छ ।

विद्युतीय सवारीसाधनको आयात धेरै हुँदा सरकारलाई दीर्घकालीन रुपमा फाइदा हुन्छ । विद्युतीय सवारी विजुलीबाट चार्ज हुने हो । आगामी दिनमा विद्युत् उत्पादन धेरै भएर खेर जाने अवस्थामा छ ।

आर्थिक वर्ष २०७६÷७७ सम्म विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैन थियो । सार्वजनिक सवारीसाधनमा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार लग्ने गरेको थियो । त्यसमा ४ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्थ्यो ।

२०७७/७८ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार दर ८० प्रतिशत र अन्तःशुल्क ४० प्रतिशत लिने व्यवस्था गरेका थिए ।

आगामी वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले १ सय किलोवाट क्षमताको विद्युती सवारी आयात गर्दा १० प्रतिशत भन्सार, १ सयदेखि २ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेका छन् ।

साथै २ सयदेखि ३ सयसम्म ३० प्रतिशत भन्सार लगाइने छ । ३ सय किलोेवाटभन्दा माथिका मोटर जडित विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार शुल्क लिइनेछ ।

कति घट्यो मूल्य
अन्तःशुल्क पूर्ण रुपमा हट्नुका साथै भन्सार मूल्य घटेसँगै गाडीको मूल्य पनि घटेको छ । नेपालमा हुन्डाईले आयोनिक र कोना विद्युतीय कार बिक्री गर्दै आएको छ ।

कोना इभीको मूल्य २३ लाख रुपैयाँले घटेको छ । बजेटअघि कोना १५० किलोवाटको मूल्य ९४ लाख ९६ हजार थियो । अहिले त्यो घटेर ७१ लाख ९६ हजारमा पुगेको छ ।

कोना १०० किलोवाटको मूल्य ७६ लाख ९६ हजार र आयोनिक १०० किलोवाटको मूल्य ७७ लाख ९६ हजार थियो । कोना १०० किलोवाटको मूल्य ५६ लाख ९६ हजार र आयोनिकको मूल्य ५७ लाख ९६ हजार रुपैयाँमा झरेको छ ।

किया नेरो इभीको मूल्य भने बढेको छ । किया नेरो १५० किलोवाट क्षमताको विद्युतीय कार हो । आगामी आर्थिक वर्षको बजेटअघि नेरो इभीको मूल्य ६६ लाख ९० हजार थियो भने अहिले बढेर ६९ लाख ९० हजार पुगेको हो ।

नेपालमा महिन्द्राको इ२ओ बिक्री हुँदै आएको छ । चालु आवमा महिन्दा इ२ओको मूल्य २९ लाख २५ हजार रुपैयाँ छ । चालु आवको बजेट अघि इ२ओको मूल्य २२ लाख ६५ हजार थियो ।

निषेधाज्ञाका कारण कम्पनीले नयाँ मूल्य सार्वजनिक गर्न सकेको छैन । कम्पनीका अधिकारीका अनुसार इ२ओको नयाँ मूल्य २२ लाख ६५ हजार रुपैयाकै हाराहारीमा हुने बताए ।


क्लिकमान्डु