अर्थमन्त्रालयद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु



काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ ।

बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थमन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै जेट कार्यान्वयनको गृहकार्य शुरु गरेको हो ।  

यसै क्रममा सोमबार अर्थमन्‍त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । 

बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनका लागि अर्थमन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ

अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा शुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए । 

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थमन्त्रालयले गर्ने बताए ।  

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थित थिए ।

यसैगरी नियमितरुपमा अर्थमत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको छ ।  

दुई दिनअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्नु भएका थिए ।


क्लिकमान्डु