मादी र सेतीमा डिजाइन एण्ड बिल्ट मोडलमा पुल बन्ने



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-पोखरा सडक खण्डमा पर्ने मादी र सेती नदी नयाँ पुल बन्ने भएको छ ।

मुग्लिन-पोखरा खण्ड अन्तर्गत आबुखैरेनी-पोखरा सडक खण्ड ४ लेनमा बिस्तार प्रक्रिया अघि बढिसकेको छ । सडक बिस्तारका लागि ठेक्का लगाइए पनि मादी र सेती नदी पुलको भने ठेक्का निकालिएको थिएन ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले मादी र सेतीमा सिग्नेचर पुल बनाउने योजनाका साथ डिजाइन तयार गरेको थियो ।तर सामान्य पुलको तुलनामा आकर्षक र सुन्दर देखिने सिग्नेचर पुलको लागत निकै महँगो पर्ने देखिएको थियो । डिजाइन अनुसार एक मिटर सिग्नेचर पुल बनाउन करिब ७० लाख रुपैयाँ खर्च पर्न आउने देखिएको थियो । एउटै पुलको लागत अर्ब रुपैयाँभन्दा धेरै पर्ने भएकाले डिजाइनबाट मादी र सेतीको पुल हटाएर ठेक्का लगाइएको छ ।

हाल निर्देशनालयले पुल निर्माण प्रक्रिया अघि बढाउन खोजेको हो । निर्देशनालयका उपनिर्देशक राकेश महर्जनले सडक विस्तार प्रक्रिया अघि बढेसँगै पुल निर्माण प्रक्रिया पनि अघि बढाउन खोजिएको बताए ।

‘पुल निर्माण प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयसँग बजेट माग गरिएको छ’, महर्जनले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्रालयले स्रोत सुनिश्चिता दिए आगामी आर्थिक वर्षकै सुरुवाती महिनाबाटै ठेक्का प्रक्रिया अघि बढाइने छ ।’

मादी र सेती नदीमा डिजाइन एण्ड बिल्ट मोडलमा पुल बनाउन खोजिएको पनि उनले जानकारी दिए । निर्माण कम्पनीबाटै डिजाइन र निर्माण गर्ने मोडललाई डिजाइन एण्ड बिल्ट भनिन्छ ।

डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा उपयुक्त हुन्छ । सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले पुल निर्माण गर्नुपर्ने अवस्था छ । यसले गर्दा डिजाइन र निर्माणमा एक रूपता कायम हुन नसक्दा निर्माणमा ढिलाई हुनका साथै विवाद पनि उत्पन्न हुने गरेको छ ।

डिजाइन एन्ड बिल्ड मोडलमा डिजाइन गर्नेले नै ठेक्का प्राप्त गर्ने गर्छ । नेपालमा २०६६ सालदेखि नै डिजाइन एन्ड बिल्ड मोडलमा ठूला पुल निर्माण भइरहेका छन् ।

मुग्लिन-नारायघाट खण्डमा निर्माणधिन १५ वटा पुल पनि डिजाइन एण्ड बिल्ट मोडलमै ठेक्का लगाइएको हो ।

निर्देशनालयले मुग्लिन-पोखरा सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेको छ । मुग्लिन-आबुखैरेनी, आबुखैरेनी-जामुन्ने र जामुन्ने-पोखरा खण्ड रहेको छ । आबुखैरेनी-जामुन्ने र जामुन्ने-पोखरा खण्डको ठेक्का लागेर निर्माण प्रक्रिया शुरु भइसकेको छ ।

आबुखैरेनी-जामुन्ने सडक खण्ड विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा ठेक्का पाएको छ । जामुन्ने-पोखरा सडक खण्ड बिस्तारका लागि चीनको अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

मुग्लिन-आबुखैरेनी खण्डमा भने मस्याङदी नदीको दायाँ र बायाँबाट सडक बनाउने निर्देशनालयको योजना छ । यो खण्डको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ ।

मुग्लिन–पोखरा सडक एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण शुरु गरिएको हो । २०७६ कात्तिकमा एडीबी र सरकारबीच आँबुखैरेनी–पोखरा सडक खण्ड स्तरोन्नति गर्न २२ अर्ब रुपैयाँ बराबर ऋण सम्झौता भएको छ ।


क्लिकमान्डु