८ अर्ब खर्चिएर सूर्यविनायक-धुलिखेल सडकखण्ड बिस्तार गरिने



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक खण्ड सरकारले आफ्नै स्रोत (रकम) मा बिस्तार गर्ने भएको छ ।

जापानी सहयोग नियोग (जाइका) ले सडक विस्तारमा चासो नदेखाए पछि सरकारले आफ्नै स्रोतबाट सूर्यविनायक-धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउन खोजेको हो ।

स्वदेशी स्रोतबाटै सूर्वविनायक-धुलिखेल सडक विस्तार गर्न खोजिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘आगामी आर्थिक वर्षबाट सूर्यविनायक-धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउने लक्ष्य छ’, थापाले भने, ‘यसका लागि सरकारसँग बजेट माग गरिएको छ ।’

सरकारले बजेटको सूनिश्चिता दिएमा साउनमै ठेक्का प्रक्रिया अघि बढाउनेगरी तयारी अघि बढाइएको थापाले जानकारी दिए ।

सडक बिस्तारका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ । ४ लेनमा बिस्तार गरिने सडकमा सर्भिस लेन भने निर्माण गरिने छैन ।

काठमाडौंको माइतीघरदेखि भक्तपुरको सूर्यविनायसम्मको सडक ६ लेनमा बिस्तार भइसकेको छ । करिब १५ किलोमटिर सूर्यविनायक-धुलिखेल सडक खण्ड मुस्किलले २ लेनको छ । अरनिको राजमार्गका साथै बिपी राजमार्ग सञ्चालनमा आएसँगै सवारीको चाप बढ्दो छ । साँघुरो सडकका कारण पछिल्लो समय यो खण्डमा ट्राफिक जाम उच्च छ ।

कोटेश्वर-सूर्यविनाक र बिपी राजमार्ग (धुलिखेल-बर्दिवास) जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । त्यसैले सूर्यविनाय-धुलिखेल सडक खण्ड पनि जाइकाले निर्माण गर्ने सडक विभागको विश्वास थियो । जाइकाले पनि सडक निर्माणमा चासो देखाएको थियो ।

त्यसका लागि जाइकाले पूर्व सम्भाव्यक्ता अध्ययन र बिस्तृत परियोजना अध्ययन (डीपीआर) पनि तयार गरेको थियो ।

तत्कालिन समयमा जाइकाले ३ वटा विकल्प सरकारलाई बुझाएको थियो । सरकारले सूरुङमार्ग सहितको डिजाइन प्रक्रिया अघि बढाउन मौखित सहमति दिइएको थियो ।

जाइकाले पनि सूरुङ सहितको डिजाइन तयार गर्यो । सन् २०१८ मा तयार भएको डिजाइन अनुसार सुरुङमार्ग सहित सडक विस्तार गर्न करिब २३ अर्ब रुपैयाँ लाग्ने थियो ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लागत मँहगो भएकोभन्दै घटाउन जाइकासँग अनुरोध गरेका थिए । जाइकाले लागतमा लचिलो हुन नसक्ने बताएको थियो । सुरुङमार्ग हटाएर भए पनि लागत घटाउन सरकारले जोड दिएको थियो ।

तर, जाइकाले सुरुङ राखेरै अध्ययन गरिसकेको भनेर अडान लिएको थियो । जाइका डिजाइन परिवर्तन गर्न रुची नराख्ने र लागतका कारण जाइकासँगको सहकार्यमा विस्तार प्रक्रिया अघि बढ्ने सम्भावना क्षीण भइरहेको छ ।

सडक विभागका एक अधिकारीका अनुसार मन्त्रीले दोहोरो भूमिका खेलेकाले जाइका नेपालसँग रुष्ट रहेको दावी गरे ।

‘सूरुङमार्ग आफैमा महँगो पर्छ । सुरुङमार्ग राख्दा सडकको लम्बाई तथा घुम्ती छोटिने जापानीको तर्क थियो’, ती अधिकारीले भने, ‘सरकारले सुरुङमार्ग राखेर डिजाइन गर्न अनुमति दियो । तर लागत धेरै आएपछि सरकार यसबाट पछि हट्न खोज्यो ।’

डिजाइन निर्माण धेरै मिहिनेत गरेको भनेर जापानीले चित दुखाए ।

जाइकाको डिजाइन यस्तो थियो
जाइकाले कोटेश्वर-सूर्वविनायक खण्ड जस्तै सूर्यविनायक-धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार गर्न खोजेको छ । जसमा सवारीसाधन गुड्नका लागि ४ लेन र स्थानीय सवारीसाधनका लागि सडकको दायाँ र बायाँ १/१ सर्भिस लेन बनाउने उल्लेख थियो ।

साँगामा घुम्तीमा सुरुङमार्ग बनाइने प्रस्ताव छ । सुरुङमार्गको लम्बाई १.२९ किलोमिटर र सडकको लम्बाई १५ किलोमिटर छ । सुरुङभित्र २ लेन र त्यसको चौडाइ साढे ३ मिटरको रहनेछ ।

त्यस्तै, यस सडकको डिजाइन स्पिड ८० किलोमिटर हुनेछ भने साँगा क्षेत्रमा ६० किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै, ६ स्थानमा आकासेपुल हुनेछन् भने ४ वटा पुल र एउटा कल्भर्ट निर्माण गरिने डिजानमा उल्लेख छ ।


क्लिकमान्डु