विशाल बजार कम्पनीको सेयरमा चलखेल, मारमा लगानीकर्ता



काठमाडौं । लेखापरीक्षण नगरेको र वित्तीय विवरण प्रकाशित नगरेको भन्दै नेपाल स्टक एक्सचेञ्जले पटक पटक कारवाही भोगेको विशाल बजार कम्पनी (बीबीसी)को सेयर मूल्यमा केही दिनयता लगातार नकारात्मक सर्किट लागेको छ ।

नेप्सेले दोस्रो बजारको कारोबार फुकुवा गरेपछि लगातार सकारात्मक सर्किट लागेर दोब्बरभन्दा बढी मूल्य पुगेको कम्पनीको सेयर मूल्यमा ४ दिनदेखि लगातार नकारात्मक सर्किट देखिएको छ । जसका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् ।

कम्पनीको सेयर मूल्य गत जनवरी २८ मा प्रतिकित्ता २ हजार ९२१ थियो । त्यसपछि कम्पनीको कारोबारमा प्रतिबन्ध लाग्यो र अप्रिल २२ देखि पुनः कारोबार शुरु भयो ।

कारोबार फुकुवा भएपछि कम्पनीको सेयर त्यसपछि लगातार उकालो लाग्दै गत मे ५ तारिखमा प्रतिकित्ता ७ हजार ४६२ मा पुग्यो ।

त्यसको अर्को कारोबार दिनदेखि कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दै मंगलबारसम्म आइपुग्दा ४ हजार ८९७ मा झरेको छ । मंगलबार मात्रै सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४४ रुपैयाँले घटेको छ ।

सो कम्पनीमा सरकारको समेत सेयर स्वामित्व रहेको छ । कम्पनीमा प्रमोटर इन्टिच्यूसनको ३.३ प्रतिशत छ । यस्तै लगानीकर्ताको ३० प्रतिशत सेयर छ । ४० प्रतिशत जनरल पब्लिकको र प्रमोटर इन्डिभिज्यूलको ३० प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीको दोस्रो बजारमा ४ लाख ९१ हजार ४०० कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण २ अर्ब ४० करोड ६३ लाख ८५ हजार ८०० रहेको छ ।

नेप्सेले झण्डै ३ महिना कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले माघ १८ गतेदेखि देखि दोस्रो बजारमा कारोबार रोक्का गरेको थियो ।

कम्पनीले वैशाख ३ गते पत्रमार्फत् आव २०७३/७४ देखि आव २०७६/७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालु आव २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरण पेश गरेको थियो । उक्त विवरण बुझाएपछि सेयर कारोबार फुकुवा भएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र नेप्सेलाई बुझाउनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु