उडान बन्द हुने भएपछि विदेश फर्कने ४० प्रतिशतले बढे



काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।

कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुहरुको आवागमनमा कमी आए पनि १९ गतेको निर्णय संगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टिन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेका हुन् ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताए ।


क्लिकमान्डु