भारतमा अदालतको आदेश- अक्सिजनको अभावमा कोरोना संक्रमितको जयान जानु नरसंहार बराबर



काठमाडौं । भारतको एक अदालतले अक्सिजनको अभावमा कोरोना प्रभावित नागरिकको ज्यान गए, त्यो नरसंहारभन्दा कुनै पनि अर्थमा फरक नहुने फैसला सुनाएको छ ।

इलाहवाद उच्च अदालतले बुधबार एक फेसला सुनाउँदै भनेको छ, ‘अक्सिजनको कमीका कारण कोरोना बिरामीको निधन भए त्यो नरसंहारभन्दा कम होइन ।’

भारतमा पछिल्ला दिनमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अक्सिजनको चरम अभाव भएको छ ।

यसै सन्दर्भमा इलाहवाद उच्च अदालतले अस्पतालमा अक्सिजनको आपूर्ति नभएका कारण कोरोनाका बिरामीको ज्यान जानु अपराध भएको र त्यो नरसंहार भन्दा फरक नभएको टिप्पणी गरेको छ ।

न्यायाधीश सिद्धार्थ बर्मा र अजितकुमारको संयुक्त बेञ्चले उक्त फैसला सुनाएको हो । अक्सिजनको कमीका कारण कृोरोना प्रभावितको जयान जाने घटनामा वृद्धि भएपछि उक्त अदालतमा निवेदन दर्ता भएको थियो ।

त्यस्तै दिल्ली उच्च अदालतले समेत केन्द्र सरकारलाई सुतुरमुर्ग जसरी मुन्टो लुकाएर नबस्न भनेको छ । अदालतले तत्काल अक्सिजन आपूर्ति गर्न भनेको छ ।

हाल नेपालमा पनि बिरामीका लागि अक्सिजनको अभाव हुन नदिन सरकारले अस्पतालका लागि बाहेक अन्य प्रयोजनका लागि अक्सिजनको बिक्रीमा रोक लगाएको छ । साथै अक्सिजन उद्योगमा समेत प्रहरीले सुरक्षा दिन थालिसकेको छ ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा राजधानीका अस्पतालमा बेड नपाउने अवस्था सिर्जना भएको छ । कोरोना संक्रमितहरु गम्भीर बिरामी भइ अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउँदा पनि बेड नपाउने अवस्था छ ।


क्लिकमान्डु