निषेधाज्ञाको ५ दिनमा हवाई मार्गबाट २० हजारले काठमाडौं छाडे, साढे १३ हजार भित्रिए



काठमाडौं । सरकारले सोमबार रातिदेखि आन्तरिक हवाई उडान बन्द गरेको छ । निषेधाज्ञायता निजी तथा सार्वजनिक सवारी साधन बन्द भएपछि मानिसहरुले हवाई उडानलाई यातायातका साधनका रुपमा प्रयोग गर्दै आएका थिए । जसका कारण हवाई उडानमा यात्रुको चाप उच्च थियो ।

तर सरकारले आन्तरिक हवाई उडानमा यात्रुको चाप उच्च भएसँगै कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भन्दै हवाई उडान पनि बन्द गरेको निर्णय गरेको हो ।

तर निषेधाज्ञाको शुरुको ५ दिनमा उल्लेख्यमात्रामा हवाई उडानबाट यात्रुहरुले यात्रा गरेको देखिन्छ । त्रिभुवन विमानस्थलका अनुसार निषेधाज्ञा शुरु भएको वैशाख १६ गतेदेखि २० गतेसम्म २० हजार ३०६ जनाले काठमाडौंबाट विभिन्न गन्तव्यमा हवाई मार्गबाट बाहिरिएका छन् । साथै सोही अवधिमा विभिन्न गन्तव्यबाट हवाई मार्ग हुँदै १३ हजार ६०८ जना यात्रु काठमाडौं भित्रिएका छन् ।

जसमा विमानस्थलका अनुसार निषेधाज्ञाको पहिलो दिन अर्थात् १६ गते २ हजार ८९९ यात्रु काठमाडौंबाट बाहिरिएका थिए भने सोही दिन २ हजार ८०६ जना काठमाडौं भित्रिएका थिए ।

त्यसैगरी १७ गते यो संख्या बढेर काठमाडौं भित्रिने ३ हजार ९३४ जना थिए भने बाहिरिने ३ हजार २९१ जना थिए । साथै १८ गते ३ हजार ९३७ जना काठमाडौंबाट बाहिरिएका थिए भने सोही दिन २ हजार ५०२ जना काठमाडौं भित्रिएका थिए । १९ गते ४ हजार ८३ जना काठमाडौंबाट बाहिरिएका थिए भने २ हजार १९३ जना काठमाडौं आएका थिए ।

तर २० गते रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएपछि सो दिन अर्थात् सोमबार ५ हजार ४५३ जना काठमाडौंबाट विभिन्न गन्तव्यमा गएका थिए भने विभिन्न गन्तव्यबाट जम्मा २ हजार ८१६ जना काठमाडौं भित्रिएका थिए ।

१९ गते वायुसेवा सञ्चालक संघ र विमानस्थलबीच भएको सहमति अनुसार दैनिक ३६ वटा मात्रै उडान गर्ने भनिएको थियो । तर २० गते रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भए पनि विमानस्थलमा यात्रुको चाप बढीभएपछि उडान संख्या वृद्धि गरिएको थियो ।

२० गते सोमबार मात्रै ६१ वटा उडान भएका थिए । २० गतेपछि आन्तरिक उडान बन्द हुँदा आवतजावतमा समस्या पर्ने भएपछि सो दिन विमानस्थलमा यात्रुको चाप उच्च थियो ।


क्लिकमान्डु