४ महिनामा करिब ५ लाखले गरे काठमाडौं हुँदै अन्तर्राष्ट्रिय उडान, ५५ हजार विदेशी नेपाल आए



काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम भएको अवस्थामा पनि सन् २०२१ को पहिलो चार महिनामा करिब ५ लाखले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् ।

अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चार महिनामा सबैभन्दा बढी मोबिलिटी अप्रिल महिनामा देखिएको छ । जसमा ४ लाख ८५ हजार १७६ जनाले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् ।

अप्रिल महिनामा नेपाल भारतीय नागरिकको धेरै आगमन भएकाले संख्या धेरै भएको हो । भारतमा कोरोनाको उच्च जोखिम देखिएसँगै खाडीलगायत विभिन्न मुलुकले भारतसँगको हवाई उडानमा रोक लगाएपछि नेपालको बाटो हुँदै भारतीयहरु ती गन्तव्यमा पुगेका थिए । जसका कारण अप्रिल महिनामा विदेशीहरुको संख्या उच्च देखिएको हो ।

कति विदेशीले यात्रा गरे ?
अप्रिल महिनामा मात्रै साढे २२ हजार विदेशी नेपाल आए भने साढे १७ हजार बाहिरिएका छन् । यो संख्या मार्च महिनामा नेपाल आउने विदेशीको संख्या १४ हजार ९७७ र नेपालबाट बाहिरिने विदेशीको संख्या ९ हजार ५८७ थियो ।

त्यसैगरी फेब्रअुरीमा नेपाल आउने विदेशी जम्मा ९ हजार १४६ जना थिए भने बाहिरिनेको संख्या ६ हजार ८८९ थियो । त्यसैगरी जनवरीमा नेपाल आउने विदेशी नागरिकको संख्या ८ हजार ८७४ थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ हजार २९२ थियो ।

कति नेपालीले यात्रा गरे ?
तथ्यांक अनुसार अप्रिल महिनामा ५८ हजार ४४९ जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल भित्रिएका छन् भने नेपालबाट ५१ हजार ७७५ नेपालीहरु काठमाडौं विमानस्थल हुँदै विदेश गएका छन् ।

यो संख्या मार्च महिनामा नेपाल आउने नेपालीको संख्या ५६ हजार २९३ थियो भने बाहिरिनेको संख्या ४९ हजार ५ थियो । त्यसैगरी फेबु्रअरी महिनामा नेपाल आउने नेपालीको संख्या ४८ हजार ४१३ थियो भने नेपालबाट बाहिरिनेको संख्या ३७ हजार २६३ थियो । त्यसैगरी जनवरीमा ४७ हजार २६७ जना नेपाली नेपाल आएका थिए भने ३९ हजार ९४६ जना विदेश गएका थिए ।


क्लिकमान्डु