यात्रुको चाप कम गर्न उडान कटौती हुँदै, दैनिक ३६ उडान, बुध्दले पायो १८ उडानको अनुमति



काठमाडौं । आन्तरिक हवाई उडानमा हवाई यात्रुको चाप बढेपछि हवाई उडानको संख्या कटौती हुने भएको छ ।

आइतबार वायुसेवा सञ्चालक संघ र त्रिभुवन विमानस्थलबीच भएको छलफल पछि उडान संख्या कटौती गर्ने सहमति भएको छ ।

कोरोना महामारीको जोखिम उच्च भएको अवस्थामा विमानस्थलमा यात्रुको अत्यधिक चाप बढेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम हुँदा संक्रमणको जोखिम बढेसँगै हवाई उडानको आलोचना हुँदै आएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार अब दैनिक बढीमा काठमाडौंदेखि ३६ वटा हवाई उडान हुनेछन् । त्यसमध्ये बुध्द एयरले १८ वटा उडानको अनुमति पाएको छ ।

साथै यति एयरलाइन्सले १० वटा, श्री एयरलाइन्सले ५ वटा उडानको अनुमति पाएका छन् । त्यसका साथै स्टोल रुटमा २ वटा उडान हुनेछन् भने एउटा उडानलाई जगेडामा राखिएको छ । जगेडामा राखिएको उक्त उडान आवश्यकता अनुसार गरिनेछ ।

‘निषेधाज्ञाका कारण हवाई उडानको संख्यामा दैनिकरुपमा कम भइरहेको थियो, त्यसमाथि विमानस्थलमा यात्रुको चाप पनि बढेकाले उक्त सहमति भएको हो,’ कँडेलले भने ।

यता विमानस्थलका प्रवक्ता प्रतापवावु तिवारीले यात्रुको चाप बढी भएकाले २ वटा उडानबीच कम्तीमा २० मिनेटको ग्याप राख्ने सहमति भएको बताए ।

‘यात्रुको चाप बढी भएकाले उडान कटौती गरिएको हो, अब प्रतिघण्टा बढीमा ३ वटा हवाई उडान हुनेछन्, यसबारेमा नागरिक उड्डयन प्राधिकरणमा लेखि पठाएका छौं,’ उनले भने ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइए पछि हवाई उडान भने यथावत नै थियो । निषेधाज्ञाको समयमा हवाई उडानमार्फत् यात्रा गर्नेको संख्या बढेसँगै कोरोनाको जोखिम बढेको भन्दै सीसीएमसीले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगित गर्न मन्त्रिपरिषदमा सिफारिस गरिसकेको छ ।

आजै साँझ बस्ने मन्त्रिपरिषदको बैठकले उक्त विषयमा निर्णय गर्न सक्ने सम्भावना छ ।


क्लिकमान्डु