निषेधाज्ञामा पनि हवाई उडान जारी, भैरहवा र बिराटनगरबाट काठमाडौं आउने भाडा जम्मा १४४० रुपैयाँ



काठमाडौं । आज बिहीबार काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन । आजैदेखि रुपन्देही, चितवन, पोखरा लगायतका स्थानमा पनि निषेधाज्ञा लागू भइसकेको छ ।

निषेधाज्ञाको पहिलो दिन हवाई भाडा भने निकै सस्तो भएको छ । बुधबारसम्म काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुले निकै महंगो शुल्क तिरेर टिकट लिएकोमा आज भने भाडा निकै कम भएको छ ।

अझ विभिन्न गन्तव्यबाट काठमाडौं आउने टिकटको मूल्य त सबैभन्दा तल्लो विन्दुमा आइपुगेको छ ।

बिहीबार भैरहवा, जनकपुर र बिराटनगरबाट काठमाडौं आउने टिकटको मूल्य १ हजार ४४० रुपैयाँमा झरेको छ ।

सामान्यतयाः यी गन्तव्यबाट काठमाडौं आउनका लागि २ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ ।

निषेधाज्ञा लागू भए पनि काठमाडौंबाट बाहिरिनेहरुको संख्या उल्लेख्य मात्रामा कमी भने आएको छैन । सरकारकाले हवाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल आउन र जान दिने भएपछि आज पनि काठमाडौं छाड्नेहरुको संख्या ठूलो छ ।

बुधबार हालसम्मकै सबैभन्दा बढी २९४ वटा उडानबाट १५ हजार २६३ जनाले हवाई यात्रा गरेका थिए ।


क्लिकमान्डु