कोभिडपछिको समयलाई ‘कन्स्ट्रक्सन होलिडे’ मान्नुपर्ने निर्माण व्यवसायी महासंघको माग



काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या यसवर्ष पनि थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

यसअघि वैज्ञानिक ढंगले म्याद थप नहुँदा समस्यामा परेका निर्माण व्यवसायीहरू अहिलेको निषेधाज्ञाका कारण अझ बढी समस्यामा पर्ने देखिएको महासंघको भनाइ छ ।

तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनाहरूमा व्यवहारिक रुपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्व लगायतका कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्ष समेत निर्माण कार्यहरु गर्ने फागुन देखि असार सम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मान्नुपर्ने महासंघको माग छ । त्यस्तै हाल संचालित सम्पूर्ण निर्माण कार्यहरुको लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने पनि महासंघले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले गर्ने टेण्डरको समय कम्तीमा १५ दिन थप गर्न पनि महासंघले सरकारसँग माग राखेको छ । समयमा बोलपत्र दाखिला गर्न नसकिने, खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायीहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने जस्ता कारण यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गर्नुपर्ने र १५ दिन समय थप गर्नुपर्ने उसको भनाइ छ ।

महामारी र निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरहरुको भुक्तानीसमेत रोकिएको पनि महासंघले जनाएको छ । अहिलेकै परिस्थितिमा आयोजनाहरुको काम अगाडि बढाउनसमेत अप्ठेरो भएकाले भुक्तानीको वातावरण सहज बनाउन राज्यले पहल गर्नुपर्ने पनि महासंघले जनाएको छ ।


क्लिकमान्डु