नविल बैंकको खुद नाफा साढे १६ % ले बढ्यो, ब्याज आम्दानी घट्दा सञ्चालन आम्दानीले राहत



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा १६.५० प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ५२ करोड रुपैयाँले थप भइ ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ९.१९ प्रतिशतले र कर्जा प्रवाहतर्फ २५.७६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म २ खर्ब ८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.०९ प्रतिशतले कम हो ।
तर, सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने १०.५४ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको चैत मसान्तसम्म ७ अर्ब ६ करोड ७७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ७ अर्ब ८१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात ०.४८ प्रतिशत, बेसरेट ६.१८ प्रतिशत, स्प्रेडरेट ३.२० प्रतिशत र पुँजी कोष अनुपात १२.२८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु