निषेधाज्ञाको घोषणासँगै हवाई टिकटको मूल्य अकासियो, कुन गन्तव्यको कति ?



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा भएसँगै हवाई टिकट महंगिएको छ । सरकारले १ वैशाख १६ गते विहानदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञासँगै अत्यावश्यक बाहेक सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएसँगै हवाई टिकट महंगो भएको हो ।

केही दिन अघिसम्म सस्तो दरका टिकटमा यात्रा गरिरहेका यात्रुहरुले अब भने काठमाडौंबाट विभिन्न गन्तव्यमा हवाई मार्गबाट जानका लागि महंगो मूल्य तिरेर टिकट खरिद गर्नुपर्ने भएको छ ।

जस अनुसार कम्पनीहरुले काठमाडौं-भैरहवाका लागि ६ हजार ३० रुपैयाँ, काठमाडौं-बिराटनगरका लागि ७ हजार १५० रुपैयाँ, काठमाडौं-भद्रपुरका लागि ९ हजार २ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

त्यसैगरी काठमाडौं-धनगढीका लागि ११ हजार ७ सय रुपैयाँ, काठमाडौं-जनकपुरका ३ हजार ६५० रुपैयाँ, काठमाडौं-नेपालगञ्जका लागि ५ हजार ७ सय रुपैयाँ, काठमाडौं-पोखराका लागि २ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

यो विभिन्न एयरलाइन्सहरुले तोकेको उपलब्ध सबैभन्दा सस्तो मूल्य हो । त्यसबाहेक कतिपय गन्तव्यको टिकट सबै बिक्री भइसकेको छ भने टिकट पाउने अवस्था छैन् ।

विमान कम्पनीहरुले निषेधाज्ञाको घोषणासँगै काठमाडौंदेखि विभिन्न गन्तव्यका लागि उडान संख्या समेत थप गरेका छन् ।
सोमबार १२३ वटा आन्तरिक उडान भएकोमा मंगलबार १२८ वटा उडान निर्धारण गरिएको विमानस्थलले जानकारी दिएको छ ।

यता सार्वजनिक यातायात व्यवसायीहरुले भने सार्वजनिक यातायात बन्द गर्ने तर हवाई उडान सञ्चालन गरिराख्ने सरकारको निर्णयको विरोध गरेका छन् । उनीहरुले कोरोना संक्रमणको जोखिम हवाई यातायातमा पनि उत्तिकै हुने दावी गर्दै हवाई उडान सञ्चालन हुने भए सार्वजनिक यतायात पनि सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन् ।


क्लिकमान्डु