कम्तीमा १ साता उपत्यकामा कडा निषेधाज्ञा गर्नुपर्छ, घर फर्कनेलाई समय दिइन्छः सीडीओ पराजुली



काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कम्तीमा १ साता कडा निषेधाज्ञा लागू गर्नुपर्ने बताएका छन् ।

सोमबार उपत्यकाका तीन वटै जिल्लाका सीडीओहरुको बैठकले कम्तीमा एक साता कडा निषेधाज्ञा जारी गर्नका लागि सिफारिस गरेको छ । यसको निर्णय सोमबार साँझ बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।

पराजुलीले निषेधाज्ञा जारी गर्नु अघि १/२ दिन घर पुग्नका लागि समय पनि दिइने बताए ।

‘हामीलाई निषेधाज्ञा जारी गर्नका लागि अधिकार प्रदान गरेको छ तर के के कुरामा निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा निर्णय लिनका लागि मन्त्रिपरिषदको बैठकमा सिफारिस गरेका छौं,’ पराजुलीले भने ।

पराजुलीले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने गरी निषेधाज्ञा जारी गरिने बताए ।

‘कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो,’ उनले भने ।

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्णरुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिनका लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।


क्लिकमान्डु