१० दिनमै बैंकहरुको २२ अर्ब रुपैयाँले निक्षेप घट्दा ९ अर्ब रुपैयाँले कर्जा बढ्यो



काठमाडौं । बैशाखको १० दिनमै बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँले घटेको छ । तर निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने सो अवधिमा ९ अर्ब रुपैयाँले थप भएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंक संघद्वारा उपलब्ध तथ्यांकअनुसार बैंकहरुले चैत मसान्तसम्म ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर बैशाख १० गतेसम्म आइपुग्दा २२ अर्ब रुपैयाँले घटेर ३९ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, चैत मसान्तसम्म बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन बैशाख १० गतेसम्म ९ अर्ब रुपैयाँले थप भइ ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले बैशाख ३ गतेसम्म ३९ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन एक साता अर्थात् बैशाख १० गतेसम्म आइपुग्दा निक्षेप संकलन ५ अर्ब रुपैयाँले घट्दा कर्जा प्रवाह भने १७ अर्ब रुपैयाँले थप भएको छ ।

चालु आवको तेस्रो त्रैमासका करदाताले भुक्तानी गरेको कर बैशाखको १५ सम्म चेक क्लियरिङस् हुँदा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएर सरकारी खातामा गएको र कर्जाको माग भने बढी नै रहेको बैंकरहरु बताउँछन् ।


क्लिकमान्डु