कोरोना प्रभावित क्षेत्रका लागि थप दुई वर्ष सहुलियत दिनुपर्छः शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाबाट प्रभावित उद्योग व्यवसायले राज्यका तर्फबाट पाउने सहुलियत अझै २ वर्षसम्म पाउनुपर्ने बताएका छन् ।
लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यवसायमा सरकारद्वारा गत वर्ष घोषणा भएका बैंकिङलगायत सबै सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने उनको भनाइ छ ।
महासंघले आगागी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताए ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा महामारी नियन्त्रण र प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
कृषि क्षेत्रको पारस्थितिक प्रणाली (इकोसिस्टम) को पुर्नसंरचना, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास र निजी क्षेत्र प्रोत्साहन विशेष कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने गोल्छाको भनाइ छ ।
सीमित स्रोत भएको मुलुकका असीमित आवश्यकता पूरा गर्नुपर्ने चुनौती बजेटमा रहने भएकाले यसपटकको बजेट मुख्यगरी यी कार्यक्रम राखिनुपर्ने उनले बताए ।
‘अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिनु हो । पहिचान परीक्षण र उपचार गर्न गत बर्षको भन्दा बढी आवश्यक छ,’ उनले भने, ‘स्थानिय तहले न्यूनतम सुविधा सहितको अस्थायी आइसोलेसन, क्वारेन्टिन र अस्थायी अस्पताल निर्माण गर्नुपर्नेछ । अक्सिजनको पर्याप्त आपूर्तिको सुनिश्चितता गरिनुपर्छ ।’
महामारीका कारण रोजगार गुमाएका व्यक्तिहरुलाई रोजगारीको प्रत्याभुति गर्नु पनि सरकारको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए । नगद अनुदानको सट्टा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनासंग जोडेर कामसँगै राहत उपलब्ध गराउनु उपयुक्त हुने सुझाव दिए ।
सर्वसाधारण र व्यवसायीले सरकारबाट पाउने सेवाको गुणस्तरका विषयमा बारम्बार गुनासो आइरहेकाले अब प्रविधिको उच्चतम प्रयोगबाट सुशासन कायम गर्ने तर्पm बजेटले विशेष पहल गर्नु आवस्यक रहेको पनि गोल्छाको भनाइ छ ।
नेपालको उर्जा बजारको सम्भावना मुलुकभित्र र बाहिरसमेत खोज्नुपर्ने गरी सरकारले जलविद्युत् उत्पादन एवं प्रसारण रणनीति बनाउन आवश्यक रहेको र त्यस्तो रणनीति बनाउन महासंघ नेतृत्व लिन तयार रहेको पनि उनले बताए ।
उद्योग वाणिज्य महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) तयार पारी कार्यान्वयनमा ल्याएको र यसले मुलुकको व्यापार, उद्योग व्यवसायलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखिएको पनि उनले बताए ।
त्यस्तै, महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रको पुर्नस्र्थापनाका लागि पनि पहल गर्नुपर्ने र महामारीपछि प्राकृतिक स्थानमा उच्च मुल्य अभिवृद्धि सहितको पर्यटन गन्तव्यको माग हुने सम्भावना रहेकाले सोहि अनुसारको पर्यटन रणनीति बनाउनुपर्ने पनि उनले बताए ।
साना तथा मझौला उद्यम बिकास कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने र महिला उद्यमशीलता बिकासका लागि सातैवटा प्रदेशमा महिला उद्यमीहरुका लागि औद्योगिक ग्रामका साथै उत्पादित वस्तुहरुको बिक्री कक्ष स्थापना गर्नु आवश्यक रहेको पनि गोल्छाले बताए ।