भूकम्पपछिको पुनर्निर्माणमा ६ खर्ब ८५ अर्ब खर्च, कति बने संरचना ?



काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा गत चैत मसान्तसम्म कूल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार बराबरको खर्च भएको छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार चालु आवको गत चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३ करोड बराबरको खर्च भएको छ ।

यस्तै आव २०७२/७३ मा २२ अर्ब ४७ करोड ५६ लाख ७१ हजार बराबरको खर्च भएको थियो । त्यस्तै, आव २०७३/७४ मा ४९ अर्ब ६९ करोड १७ लाख ३१ हजार, आव २०७४/७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख ५२ हजार खर्च भएको थियो ।

प्राधिकरणका अनुसार आव २०७५/७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख १४ हजार र आव २०७६/७७ मा ५२ अर्ब ४९ करोड ३३ लाख ५९ हजार बराबरको खर्च भएको थियो ।

दाता सम्मेलनको क्रममा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रुपैयाँ बराबर थियो । त्यसमा ७६ अर्ब राहत तथा उद्धार एवम् अन्य कार्यक्रममा खर्च भएको थियो । भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक रकम जम्मा २ खर्ब ९४ अर्ब मात्रै रहेको छ ।

६ हजार विद्यालय भवन बने
प्राधिकरणका अनुसार हालसम्म कूल ६ हजार २४६ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । कूल ७ हजार ५५३ भवन निर्माण गर्ने लक्ष्य राखिएकामा ८२.७ प्रतिशत सम्पन्न भएका छन् । यस्तै १ हजार ३०७ वटा भवन पुनर्निर्माणको भरमा छन् ।

कूल १ हजार १९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ६९८ निर्माण सम्पन्न भएका छन् भने २९६ वटा पुनर्निर्माणका क्रममा छन् ।

सरकारी भवनतर्फ कूल ४१५ वटामध्ये ३७४ वटाको पुनर्निर्माण सकिएको छ । ३८ वटाको भने पुनर्निर्माण जारी छ ।

सुरक्षा निकायतर्फ कूल २१६ वटामध्ये २१४ वटा सम्पन्न भएका छन् भने २ वटा पुनर्निर्माणको क्रममा छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण निजी आवासतर्फ १० लाख क्षति भएको थियो । पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको संख्या ८ लाख १० हजार ४२७ छन् ।

प्राधिकरणले आगामी असार मसान्तसम्म नियमति काम गर्नेछ । २०७८ साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी दबार संग्राहलय भित्रको रणोद्दिपको दबार पुनर्निर्माण बाहेक सबै योजना तथा कार्यक्रम भने सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तय भएको छ ।

भूकम्पले कूल १४ जिल्ला अति प्रभावित गरेको थियो भने ३२ जिल्ला प्रभावित भएको थियो ।

हालसम्म ६ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् भने ७ लाख ४ हजार ४६७ लाभग्राहीले दोस्रो किस्ता र ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ता वापतको रकम लिएका छन् । घर निर्माण शुरु गरेका कूल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ रहेका छन् ।


क्लिकमान्डु