पूर्वाधारमा लगानी गर्न गैर आवासीय संघको नेतृत्वमा १० अर्बको कोष ल्याउने, ८ अर्बको आइपीओ



काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) ल्याउने भएको छ ।

संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पुर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको छ । जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत सस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने संघका अध्यक्ष कुमार पन्तले बताए ।

आईपीओ भने सार्क मुलुक बाहेकका गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने छन् । उनका अनुसार हालसम्म सो परियोजनाका लागि संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइसकेका छन् ।

‘यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना सुरु हुन्छ,’ उनले भने, ‘संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दनी गर्ने हैन, यसको सहि सदुपयोग समयमै हुन्छ,’ नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को कार्यक्रममा पन्तले भने ।

संघले पारम्भिकमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्ष भित्रै लगानीलाई १ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

पूर्वाधार तथा उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।

परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । सबैभन्दा बढी गैरआवसीय नेपालीको लगानी रहेको यो पहिलो परियोजना रहेको अध्यक्ष पन्तको भनाइ छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार क्षेत्रमा लगानी गरिने उनको भनाइ छ ।


क्लिकमान्डु