भारतमा सिटी बैंकले रिटेल कारोबार बन्द गर्दै, ४ हजार कर्मचारी बेरोजगार हुने



एजेन्सी । भारतमा कारोबार गरिरहेको सबैभन्दा ठूलो बैंक सिटी बैंकले भारतमा रिटेल बैंकिङ कारोबार बन्द गर्ने तयारी गरेको छ ।

सो बैंकका कूल ३५ शाखा रहेका छन् । कन्जुमर बैंकिङ कारोबारमा क्रेडिट कार्ड, रिटेल बैंकिङ र होम लोन समेत समावेश छ । करिब १८ हजार मानिसले सो बैंकमा काम गर्छन् भने २९ लाख सो बैंकका ग्राहक रहेका छन् । २२ लाख बराबरको क्रेडिट कार्ड प्रयोगकर्ता छन् । यस्तै १२ लाख बढीको बैंक खाता रहेको छ ।

सो बैंकले अष्ट्रलिया, बहराइन, चीन, इण्डोनेसिया,दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स पोल्याण्ड, रुस, ताइवान, थाइलयाण्ड र भियतनामबाट कन्जुमर फ्रेन्चाइज कारोबार बन्द गर्ने तयारी गरेको छ ।

सो बैंक भारतको सबैभन्दा पूरानो बैंक हो । सो बैंकले सन् १९०२ मा कारोबार शुरु गरेको थियो । भारतको बैंकिङ प्रणालीलाई अत्याधुनिक बनाउन सो बैंकको प्रमुख भूमिका छ ।

एटिएम कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ तथा एसएमस सेवा सेवा समेत सोही बैंकले शुरु गरेको थियो । यस्तै २४ घण्टा नै सेवा दिने बैंकका रुपमा चिनिन्छ ।

सिटी बैंकले भारतमा रिटेल कारोबार बन्द गर्नुको पछाडि खासमा दुई प्रमुख कारण रहेको बताइएको छ । भारत सरकारको कानून तथा नियम एवम् बजारमा खास अर्थमा प्रतिस्पर्धा गर्न नसक्नु नै रहेको छ ।

सबैभन्दा ठूलो विदेशी बैंकको रुपमा रहेको सो बैंकले २.१८ लाख करोड बराबरको कारोबार गरेको थियो । यस्तै एचएसबिसी बैंकको २.११ लाख करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.८४ लाख करोड बराबरको कारोबार गरेको थियो ।

सो बैंकले रिटेल कारोबार बिक्री गर्नका लागि खरिदकर्ता खोजीरहेको छ । सो बैंकको रिटेल कारोबार बन्द गर्दा झण्डै ४ हजार मानिस बेरोजगार हुने अनुमान सार्वजनिक भएको छ । सो बैंक अमेरिकाको बैंक हो ।


क्लिकमान्डु