पर्यटक आकर्षित गर्न ‘भ्याक्सिन टुरिजम’



काठमाडौं । कोरोना महामारीका कारण ध्वस्त भएको पर्यटन क्षेत्र उकास्नका लागि यतिबेला विभिन्न देशले भ्याक्सिन टुरिजमको अवधारणा अघि सारेका छन् ।

कोरोना महामारीका कारण विभिन्न देशहरुले अन्तर्राष्ट्रिय सीमा बन्द गरेका कारण विश्वको पर्यटन क्षेत्र निकै प्रभावित भएको छ । जसका कारण पर्यटनमा आश्रित देशहरुले ठूलो नोक्सानी बेहोरेका छन् ।

तर कोरोना महामारीकै कारण ध्वस्त भएको पर्यटन क्षेत्रलाई उकास्नका लागि कतिपय देशले यो चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न थालेका छन् । यसका लागि उनीहरुले विदेशी पर्यटक आकर्षित गर्नका लागि ‘भ्याक्सिन टुरिजम’को अवधारणा ल्याएका छन् ।

त्यसैमध्येको एक हो, दक्षिण एसियाली मुलुक ‘मालदिभ्स’ ।

मालदिभ्सले यसका लागि ‘थ्री भी’ अवधारणा ल्याएको छ । त्यो भनेको भिजिट, भ्याक्सिनेट र भ्याकेसन हो । अर्थात, घुमौं, भ्याक्सिन लगाऔं र भ्याकेसन मनाऔं ।

मालदिभ्सको सबैभन्दा मुख्य आयस्रोत भनेको पर्यटन क्षेत्र नै हो । मालदिभ्सको अर्थतन्त्रमा पर्यटन क्षेत्रको २८ प्रतिशत योगदान छ । तर पछिल्लो एक वर्षयता कोरोना महामारीका कारण विदेशी पर्यटक आउने क्रम ठप्प प्रायः भएसँगै मालदिभ्सले यसलाई रिभाइसका लागि भ्याक्सिन टुरिजमको अवधारणा अन्तर्गत यस्तो प्याकेज ल्याएको हो ।

सन् २०२१ मा हालसम्म मालदिभ्समा ३ लाख ५० हजार विदेशी पर्यटक पुगिसकेका छन् । तर मालदिभ्सले यो संख्यालाई सन् २०२१ को अन्त्यसम्ममा १५ लाख पुर्याउने योजना अनुसार उक्त प्याकेज अफर गरेको हो ।

मालदिभ्समा ९० प्रतिशतभन्दा बढी पर्यटनमा अग्रप्रक्तिमा काम गर्नेहरुले पहिलो चरणको खोप लगाइसकेका छन् भने ४.८ प्रतिशत जनताले दुबै चरणको खोप लगाइसकेका छन् ।

पछिल्लो समय भारत लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेसँगै दुबईले पनि भ्याक्सिन टुरिजमलाई लक्षित गरी यस्तो अफर ल्याएको छ । जसमा दुबई घुम्न पनि पाइने र फर्कदा कोरोनाविरुद्धको भ्याक्सिन लगाएर फर्कन पनि पाइने छ ।

नेपालमा पनि भ्याक्सिन टुरिजमको अवधारणा सहज नभए पनि हेल्थ टुरिजममा भने ठूलो सम्भावना छ । कोरोना महामारीपछि थलिएको नेपालको पर्यटन क्षेत्रमा अहिले हिमाल आरोहणका लागि भने ठूलो आकर्षण देखिएको छ ।

पर्यटन विभागका अनुसार हालसम्म वसन्तु ऋतुमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि ६५९ जनाले अनुमति लिइसकेका छन् । जसमध्ये सबैभन्दा बढी ३७१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

त्योसँगै हेल्थ टुरिजमको प्याकेजबाट विदेशी पर्यटक आकर्षित गर्न सकिने आयुर्वेद हेल्थ होमका प्रबन्ध निर्देशक बद्री कोइराला बताउँछन् ।

कोइराला र उनको टीमले एक महिना अघि मात्रै काठमाडौंको तारेकेश्वर नगरपालिकामा पञ्चकर्म विधिमार्फत् उपचार गराउनका लागि रिसोर्ट नै सञ्चालन गरेका छन् ।

जहाँ प्राकृतिक उपचारका साथै पञ्चकर्म विधिबाट उपचारका लागि स्वदेशी विदेशीहरुलाई आकर्षित गरिरहेका छन् । उनका अनुसार आयुर्वेदको माध्यमबाट उपचार गरिने रिसोर्टमा स्वदेशी र विदेशी नागरिकको आकर्षण रहेको र सरकारले पनि त्यसमा प्रोत्साहन दिए ठूलो सम्भावना रहेको बताए ।


क्लिकमान्डु