मुक्तिनाथ विकास बैंकले राख्यो रेकर्ड, विकास बैंकहरुमा पहिलो पटक नाफा १ अर्ब



काठमाडौं । मुक्तिानाथ विकास बैंकले रेकर्ड राख्दै पहिलो पटक विकास बैंकहरुमा नाफा १ अर्ब कटाएको छ ।

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नै नाफा १ अर्ब रुपैयाँ गरेको हो । अघिल्लो वर्षको चैत मसान्तमा मुक्तिनाथ विकास बैंकको नाफा ६७ करोड ६० लाख रुपैयाँ थियो ।

अहिलेसम्म विकास बैंकहरुले १ अर्ब नाफा कमाएका छैनन् । १ अर्ब रुपैयाँ नाफा गर्दा मुक्तिनाथले केही वाणिज्य बैंकलाई समेत जितेको छ । मुक्तिनाथ केही वाणिज्य बैंकभन्दा नाफा र निक्षेपमा विगतमा पनि अगाडि थियो ।

९ महिनामा १ अर्ब नाफा कमाएको मुक्तिनाथ विकास बैंकले १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी ब्याजबाट गरेको छ । कमिसनबाट ४८ करोड रुपैयाँ कमाएको छ ।

४ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको मुक्तिनाथ विकास बैंकले चैतसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ८२ करोड ६७ लाख रुपैयाँ गरेको छ ।

चैतसम्ममा मुक्तिनाथ विकास बैंकको निक्षेप ७९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप ५७ अर्ब ३१ करोड थियो ।

यस्तै कर्जा ६८ अर्ब ५७ करोड पुगेको छ जुन अघिल्लो वर्षको चैतमा ४७ अर्ब ६६ करोड रहेको थियो ।

मुक्तिानाथ विकास बैंकको चैत मसान्तसम्म बेसरेट ८.०१ प्रतिशत छ भने स्प्रेडदर ४.९२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७९.९३ प्रतिशत छ । खराब कर्जा अनुपात ०.२१ प्रतिशत रहेको छ ।

यस्तै प्रति सेयर आम्दानी २७.८७ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु